June 12, 2026, Friday
२०८३ जेष्ठ २९, शुक्रबार

रोदन

कसैले बुनेको सपनाको एउटा अंश हुँ म
कसैले लगाएको गुनको सदावहार ऋणी हुँ म
कसैका स्वप्नील स्पन्दनमा सजिएका मेरा ती कृत्यहरू
मर्ममा प्रहार भएका अनगिन्ती कौतूहलहरू
चिरफार गरी बुझ्दै छु आफ्नै आन्तरिक परिवेशलाई
हो, ‘म को हुँ ?’ भन्ने प्रश्नको ओझेलमा
आज म दिन काट्‌दै छु
आँसुका अंश झारी म रात ढाक्दै छु ।

अन्धकार नै वर्तमानको सहयात्री बनेको छ
बिथोलिएका भावना व्यक्त गर्ने एउटा माध्यम बनेको छ
त्यो रोदन स्पर्श गर्ने सायद ईश हुन्छन् होला
जूनसँगैको शीतल छहारीमा बिलुप्त भएर
ताराको सम्पूर्ण चम्किलो तत्त्व नै लुकाएर
अँधेरी रातमा आँसु झारी रात ढाक्न दिन्छन् होला !

भय छ मनमा यदि म रोएको कसैले देख्यो कि ?
रातभर रोई सिरानी भिजेको पत्तो भयो कि ?
मौनता नै वर्तमानको सहपाठी बनेको छ
अझै पनि अँधेरी रातमा सितारा खोज्‍ने प्रयत्न जारी नै छ

कसैको रमझमको एउटा पात्र बन्दै
कसैको अविरल यात्राको यात्री बन्दै
जीवन पथका ती अवरोधहरूलाई नियाल्दा
हरप्रश्नका उत्तरसँग परिचित छु
केबल वकालत गर्ने आँट छैन
हो, आज अभिलाषाका लागि वर्तमान सँग जुध्दै छु
प्राणतत्त्व सार्थक बनाउन जीवन्त बन्ने कोसिस गर्दै छु ।