June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०, शनिबार

प्रेमको सीमा हुँदैन

प्रेम एक आदर्श कल्पना धेरैको
तर यस्तो जीवन हुन्छ थोरैको
मान्छे सहज जब गर्दैन प्राप्त
विक्षिप्त बन्छ अनि प्रेम व्याप्त

जिम्मेवारी हो पनि प्रेम अवश्य
नजान्दा देखाउन असफल पक्ष
डेग नचल्ने टिप्पणी जनको
भन्लान् अवश्य ढुङ्गाको मनको ।

प्रेम हुँदैन त्यति साह्रो सस्तो
काव्य कथामा व्याख्या गरे जस्तो
लागेर राम्रो आफ्नो हुने हैन
भावना छताछुल्ल बन्नु हुँदैन ।

कसैसँग नाम जोडिएर आउँदा
सामान जस्तै ट्रेडमार्क पाउँदा
असफल भए त शीर उठ्न गाह्रो
घृणामा परिणत दृष्टान्त तारो ।

कतिले भन्छन् प्रेम परिबन्ध
स्त्री पुरुषबीचको मात्र सम्बन्ध
माया र प्रेम त्यही मात्र हैन
अनन्त यसको सीमा हुँदैन ।