January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

आमा

जीवनको पूर्ण किताबको उनी सुखको पानामा
जीवन दियौ, संसार दियौ पुँज्दछु हे आमा
संसारले साथ छाडेर गए आमा छिन् साथमा
घट्दैन कैले आमाको माया दिन र रातमा ।

किताब खुला झैँ मेरी आमा ज्ञानकी हुन् खानी
पिरले कैले निदरी भाग्दा बन्दछिन् सिरानी
विश्वमा खोजी पाइन्न अर्को आमा झैँ मायालु
पढ्लेख छैन तर नि सबै काममा सिपालु ।

आमाकै लेखे कविता काव्य लेखेछन् त्यो कथा
तर नि बुझ्‍न सकेनन् कत्ति आमाको त्यो व्यथा
नौ मैना कोखमा राखेर उनले टेकाइन् भूमिमा
हे दैव उनकै बनूँ म छोरी प्रत्येक जुनीमा ।

नखाई आफू सन्तानकै पेट आमा त भर्दछिन्
सन्तानलाई के होला भनी चिन्ता है गर्दछिन्
पहाड सरी अटल आमा शीलत त्यो छाया
कसरी भूल्न सक्दछ लोक आमाको त्यो माया ।