September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

छोरो हुँ

छोरो हुँ
धेरै कुरा हुन मन लाग्छ
सबैको माया छुन मन लाग्छ
चित्त दुखेका बेला एक्लै बसी रुन मन लाग्छ

सोच्छु
कतै एकान्तमा गएर एक्लै बसूँ
सारा संसार त्यागूँ
तर, म छोरो हुँ
परिवारको जिम्मेवारी बोकेर
सहर पसेको एउटा गाउँले
साथ छोड्नुअघि
बाआमाको श्रवणकुमार हुन मन लाग्छ

म, समाजले धिक्कारेको एउटा पात्र हुँ
अठार वर्षसम्म हेरविचारको कमी हुँदैन
त्यसपछि केही गर्छ कि भनेर आशा राख्‍नेहरू
केही गर्न नसक्दा गाली गर्छन्
‘जोईटिङ्‍ग्रे’ भनेर नामकरण गरिदिन्छन्
किनभने, म छोरो हुँ

मलाई पनि
स्वतन्त्र भई जीवन जिउन मन लाग्छ 

खटपटिएका कुराहरू हराएर जान्छन् मेरा मुटुबाट
चिन्ताका बोझले भरिएको मुटु
नखोलिएको गाँठाले गर्दा
कठोर भएको मन
मेरा कुरा सुन्न अरूले जाँगर गर्दैनन्
किनभने म छोरो हुँ छोरो !

अरूका कुराहरूको सानो हिस्सा हुन मन लाग्छ
स्वार्थले भरिएको यस दुनियाँमा
अनन्त अन्धकारको अन्धविश्वासले
मेरो जीवनलाई
पैसाको बोट खोज्‍न लगाइदियो
छिमेकी, नातेदार सबैबाट सुनिने एउटै प्रश्‍न-
ए केटा ! पैसा कति कमाइस् ?
मान्छे हुँ
गर्दै छु
तयारीमा ढिलो चाँडो हुन्छ भनेर बुझ्‍न सक्दैनन्
किनभने म छोरो हुँ

भनिन्छ- पुरुषमाथि भेदभाव गरिँदैन
भेदभाव त नारीले भोग्‍नुपरेको छ
खै, पुरुष भएर होला
गाडीमा पुरुष सिट नदेख्दा
झुटो आरोपमा दोषी भई समाजको खलनायक हुनुपर्दा
छातीभित्र कता कता चसक्क बिझाउँछ
यहाँ, पुरुष पनि भेदभावमा परेका छन् कि भन्ने लाग्छ
तर, मैले त्यसो भन्नुहुँदैन
किनभने म छोरो हुँछोरो हुँ
मन जतिसुकै सफा भए पनि
हेरिने धन रहेछ
कमै बोल्छन् मसँग
बोल्नेहरूका शब्दमा पनि स्वार्थ भेट्छु
गोबनको फण झैँ फुलेको दम्भ भेट्छु
बोल्न मन नभई बोलिराख्‍नु पर्दैन
म पनि स्वभिमानी छु
स्वाभिमान कुल्चिएर कहिल्यै
लाचार हुन जान्दिनँ
किनभने म छोरो हुँ, छोरो ।