हराएको हाँसो
घरबाट कलेज जानलाई ब्याग प्याक गर्दा
केही छुटे जस्तो लाग्थ्यो, आमालाई थाहा हुन्थ्यो
ऐनामा आफूलाई हेर्दा, आफैँलाई एउटा प्रश्न गर्थेँ
आज फेरि सपनासँगै जिमेवारी थपिँदै गर्दा सोधेँ
मेरो हाँसो खै कता हरायो ?
हराएको पैसा झैँ बाटामा खस्यो कि
टपक्क टिपेर कसैले लग्यो कि
खोजिरहेँ, त्यसैले मबाट टाढियो कि !
लुकामारी खेल्दै छन् पुराना यादहरूमाझँ खुसी मेरो
लाइब्रेरीको सोफा, क्लासको कुर्सीमा पो छुट्यो कि !
होस्टलको बसाइ, हाट बजारको किनमेलमा हरायो कि
खोस्दै मेरा साथीसँगी, समयले मलाई एक्लो बनायो
नारायणीको शान्त बगर, सन्ध्याकालीन सुनौलो प्रहर
हजारौंको भीडमा पनी एक्लो बनाउने त्यो गुमनाम सहर
चोकको व्यस्त ट्राफिक, बसपार्कको होहल्लामै गुमाएँ कि
तिनपाङ्ग्रे विधुतीय टुकटुक या लोकल बसको सिटमै छुट्यो कि
कलेजको महिनौँको जाँच र बिचबिचमा हुने नाच सम्झन्छु
नसकिने गफ, नसकिँदै पग्लिने आइसक्रिम सम्झन्छु
साथीहरूसँग बिताएका हरेक पल सम्झन्छु
आफ्ना गल्तीहरू, भोगाइ र सिकाइ सम्झन्छु
कलेजमा अनेकौँ र अनौठा साथीहरू पाएँ
आफ्नो र अरूको कहलिने माहोलमा, फरक पार्टीका
सुखदुःख साटेका, मैले अझैसम्म सापटी नतिरेका
सय पेजको क्लास नोट भन्दा बढी सिकाउन सकेका
यी पलहरूमै लुकेका छन् मेरा भावहरू, चुर्लुम्म डुब्दछु
सम्झँदा मन भावशून्य हुन्छ, अनी गहिरो श्वास फेर्छु
मैले खोज्दा त पाइनँ, पाउँदा म नै म रहिनँ
तिमी सही थियौ होला तर मेरो पनि त गल्ती थिएन
पुराना साथीहरू भन्छन् ‘तिमीमा धेरै परिवर्तन आइसक्यो।”
हो ! मैले साथी बचाउन धेरै कुरा त्यागेको छु
ऐनाअगाडि उभिएर, आत्म मूल्याङ्कन गर्दछु
बाआमाको विश्वास, समयको बेगसँगै पाइला चाल्छु
एकान्तमा रमाउँछु प्रायः आफूसितै हुने गर्छु
अब म आफ्नो गन्तव्यतर्फ लाग्न चाहन्छु।
लेखकको सम्वन्धमा