January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

उल्टा पाइला

यी पैतालाहरू
माटो र ढुङ्गाले हानिएका
काँडाहरूले डोबेका
चिसोले छिनिएका
कैयौँ सपना र सोचहरूको दबाबमा गलेका
चप्पलको अभावले पिछडिएका
तर,
साहस र हिकमतले तम्सिएका
इच्छा र चाहानाहरूको ठेला गुडाउँदै
पुग्नु थियो कैयौँ पर
सपनाहरू टिपेर ल्याउन
सानो घरमा खुसीको लाल्टिन बाल्न
दु:खको खानीसँगै सानो सुख मिसाउन
मलामीलाई अलिकति भए पनि सफलताको भारी बोकाउन
तर,
सफलता पाउँन सजाएका
कैयौँ सपनाहरूको ठेला
भारी लाग्दै थियो घाइते पैतलाहरूलाई
अब चढ्न सकिँदैन साकारको उकालो
ठेल्न सकिँदैन दुईपाङ्ग्रे ठेला
चल्दैछन् उल्टा पाइला
निराशाको उदास मुहार सँगै
थकित मन अनि भारी मस्तिष्क
यो मुर्झाएको जाँगरसँगै
अस्ताउँदै गरेको उमेरसँगै
चल्दै छन् उल्टा पाइला
केवल,
चल्दै छन् उल्टा पाइला ।