February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

राष्ट्रगाथा

गौरवशाली इतिहास हाम्रो गाथा वीरताको
शान्तिप्रिय सेना हाम्रो प्रतीक एकताको
गरी संहार आतङ्कको गर सम्भार देशको
बचाई संस्कृति गर रक्षा भाषा, भुषा र भेषको ।।

दुरद्रष्टा, युगद्रष्टा तीक्ष्ण बुद्धि अनि चतुर
शैन्यकौशल, रणकौशलमा निपूर्णता प्रचुर
थिए एक कमाण्डर राजा पृथ्वीनारायण
राष्ट्रप्रति इमानदार अनि कर्तव्यपरायण ।।

गोरखा हुँदै कान्तिपुर जुटाई देश सारा
सगौरव एकताको लगाउछौं हामी नारा
स्वतन्त्र र सधैँ अटल संसारमै छ राम्रो
राष्ट्रनिर्माण गरी बन्यो मजबुत देश हाम्रो ।।

तिलङ्गा भनी सुरु फौजी, नेपाली सेना बन्यो
विश्वभरका देशहरूले पनि उत्कृष्ट सेना भन्योे
पुर्खाको वीरता बोकी हिँड्ने सधैँ पाखुरामा
तराई, पहाड, हिमाल अनि अग्ला ती टाकुरामा ।।

आँधिबेरी, बाढी पहिरो हिँडी सँगै-सँगै
लड्दै कडा सङ्कटबिच हाँसिरहने सधैँ
भिरपाखा पहरामा बाटो खन्दाखन्दै
भए कति सहादत जय मातृभूमि भन्दै ।।

अटल यो देशलाई छ तिम्रै आशा भरोसा
शान्ति अनि सुरक्षामा छाउन नदेऊ निराशा
अन्धकारमा ज्योति छर्दै दु:खको बन सारथी
चढाउँछु स–सम्मान तिमीलाई सम्मान गारती ।।

 बनाई मूल मन्त्र शान्ति, सुरक्षा अनि एकता
जोगाई सार्वभौमिकता, बचाऊ राष्ट्रियता
डमरु अनि त्रिशुल बोकी रच्यौ इतिहास पनि
देखाई माटोको माया जितेर आयौ अनि ।।

टिस्टा अनि काँगडा लड्यौ नालापानीमा
देखाऊ साहस एकफेर अब कालापानीमा
विकास निर्माण गर्न बनायौ पूल-पुलेसा र बाटो
मेची-काली जोगाऊ सधैंँ अनि यो देशको माटो ।।

कालु पाण्डे, भक्ति अनि अमरसिंह थापा
बहादुर शाहले बनाएको वीरताको गाथा
चन्द्र-सूर्य अङ्कित झन्डा छ जङ्गी निशान
विजयको किल्लामा फहराई गाऊ राष्ट्रगान ।।

जपेर सधैं मूल मन्त्र सेवाभाव र देशभक्तिको
सलाम छ सधैँ तिम्रो स्वाभिमान र अटुट शक्तिको
राष्ट्रनिर्माता पृथ्वीनारायणको गरौं सधैं आरती
जननी जन्मभूमिश्च स्वार्गादपी गरियसी ।।