January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

प्रमाण पुगेन

खै के गरुँ हजरु ?
न बोलौँ त खसखस हुने
जिब्रो चिलाउने
बोलौँ त बात लाग्‍ने
आ जे होस् !
बोल्छु बोल्छु
सबैको इतिश्री पोल खोल्छु
जे जे भाको हो
जो जो देख्या हो
सो खुटै–खुट कहन्छु ।

वेद, गीता, कुरान
त्रिपिटक छोएर भन्छु
देखेको, सुनेको, भएको
भोगेको सब कहन्छु
अब त म बोल्छु बोल्छु
सबैको इतिश्री पोल खोल्छु ।
सत्य–सत्य बोल्छु
सत्यसिवाय केही बोल्दिनँ
आगे श्रीमान्‌को आदेश ।

भन बालक भन
तिमीलाई के भन्नुछ
भएको के के हो ?

हो हजुर हो
भ्रष्टाचार भएकै हो
कमिसन घुसखोरी भएकै हो
सुनकाण्ड, वाइडबडी काण्ड
यति काण्ड, ओम्‍नी काण्ड
ललिता निवास काण्ड
महरा काण्ड, बाँस्कोटा काण्ड
सक्कली जनता
नक्कली शरणार्थी काण्ड
हत्या, हिंशा, बलात्कार
यी सबै काण्ड भएकै हुन्
सबैले दखे सुनेकै हो श्रीमान्,
तर के गर्नु प्रमाण पुग्दैन ।

अनि अडियो रेकर्ड त होला नि ?
छ न त छ
तर अभियुक्तले
मेरो बोेली होइन भनी
इन्कारी वयान दियो श्रीमान्

अनि
मोबाइल फोनमा बोलेको
दोहोरो संवाद पनि नक्कली होला त ?
खै श्रीमान्
बोल्ने त म नै हुँ 
तर, आवाज मेरो होइन भन्छ
क्यारिकेचर गर्नेले
मलाई फसाउन गरेको हो भन्छ
एआईको जमाना छ
त्यसको कमाल हो भन्छ ।

ल ठिक छ भिडियो त होला नि ?

भिडियो त थियो श्रीमान्
तर
के गर्नु हिजो मात्रै उसले
बिनाअनुमति भिडियो खिचेको
भनी उल्टो मुद्दा दायर गरको छ श्रीमान् ।

अनि सीसी क्यामेरा, फुटेज केही थिएन ?

छ न त थियो श्रीमान्
तर २ वटा क्यामेरा मध्ये
एउटाको तार
मुसाले काटेको २ वर्ष भएको रैछ
तर होटलमा भेटी
घुस खाने मुखलाई
सीसी क्यामेराले देख्दो रैनछ श्रीमान्
अनि फेरि कार्यकक्षमा
सीसी क्यामेरा राखी
जालसाजी गरी फसाउने,
लोकतन्त्रविरुद्धको गम्भीर
षडयन्त्रको आरोप लगाउँदै
गोपनियताको हक विरुद्धको कार्य
भन्दै अर्को रिट हालेकोछ श्रीमान् ।

बहस सकिएको
बाह्र वर्षमा फैसला सुनाइयो
निज अभियुक्तहरू विरुद्ध
प्राप्त दसी प्रमाण,
घटनास्थल प्रकृति,
मुचुल्का, साक्षी, बारदात,
भिसेरा, पोष्टमार्टम रिर्पोट
छानविन प्रतिवेदन
आदि सबै हेर्दा
निजले गल्ती गरेको
अपराध गरेको हो
भन्न सकिने पर्याप्त
आधार कारण प्रमाणित नभएकाले
सफाइ दिने फैसला गरिन्छ
र, नीजबिरुद्ध
मुद्धा दायर गर्नेलाई
झुठा मुद्धा जालसाजीको
अभियोगमा १० वर्ष
कैद हुने ठहर्दछ ।

धन्य श्रीमान् !
प्रमाण पुगेन ।