April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार

नयाँ वर्ष !

उही पुरानो झोला
उही पुरानो सिसाकलमखुट्टे सुदामा झैँ
जिङ्ग्रिङ्‍ङ कपाल फिँजाएर
लमकलमक लम्किँदै
आयो फेरि यो कङ‍्‍गाल नयाँ वर्ष !

पोहोर साल कलिला आँखामा
बन्दुकको नाल झोस्यो
बुढी आमाको काख खोस्यो
बुहारीले एकल नारीको पगरी गुथ्नु पर्यो
बाटो हिँड्ने भरिया बाटैमा हराए
पहिरोले कैयन परेवाको प्राण उडायो
हुरीले मधेस निल्यो
फेरि यस्तै चकचक गर्न आउँदै छ नयाँ वर्ष ! 

अँगार जस्तो  समय
बारम्बार बलात्कार भएको धर्तीको
गर्भभित्र पनि
भ्रष्टाचार गर्न पल्केका साँढेलाई
खाली पेट भर्न
हतार हतार आउँदै छ नयाँ वर्ष !

लाखेस !  संसारका  बैङ्‍क उत्तानो पार्ने
तँ पाजी कालखण्डलाई
रछ्यानमा पाटाको दाम्लाले बाँधेर
सुकेको मकैको ढोडको घाँस हाल्न बिर्सेछ
किमजोङ्‍को कुकुर खोलेर
नाङ्‍गै पारेर छोड्नुपर्ने थियो
त्यो पनि भुलेछ
बलभद्रको तरवारसमेत छुटेछ
उन्मत्त समयको गर्दन नाप्‍न
खिस्स परेको  उही बाघमुखे रातो मुख लिएर
बेसरम नयाँ वर्ष आउँदै छ ।

ढिकुटीमा अन्न छैन
गोठमा गाईबाछा छैनन्
ढिकीमा घान हाल्ने मकैसम्म छैन
बारीमा तरकारी छैन
खेत बाँझो छ
खोलानाला सुस्ताएका छ्न
असारे गीत गाउँघरमा घन्किँदैन
मङ्सिरे खलो देखिँदैन
छोराछोरी तातो बालुवामा
पसिना बेचिरहेका छन्
यता रेमिटेन्स काखी च्यापेर
आयो नयाँ वर्ष  !

मर्नेले आराम पाएको छैन
बाच्‍नेहरू हजार पल्ट मरेका छन्
निर्मलाहरू प्रत्येक मिनेट
बलात्कृत भइरहेछन्
कुन उमङ्‍ग बोकेर आउँदै छ्स्
हो नयाँ वर्ष ???