January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

विद्यालय स्तरमा निबन्ध लेखनसम्बन्धी अन्तरक्रिया

२९, मङ्‍‌सिर 
राष्ट्रिय जनसाहित्यिक सङ्‍घ, नेपालको केन्द्रीय निबन्ध विभाग र झरना सञ्‍चारको संयुक्त आयोजनामा विद्यालय स्तरमा निबन्ध लेखनसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

राजधानी र मोफसलमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत २५ जना विद्यार्थीमाझ अन्तरक्रिया सम्पन्न भएको छ ।

सङ्घका उपाध्यक्ष एवं निबन्ध विभागका संयोजक नर्मदेश्वरी सत्यालको अध्यक्षता रहेको उक्त कार्यक्रममा अखिल नेपाल महिला सङ्‍घ कलासाहित्य विभागका संयोजक रञ्‍जु पोखरेल प्रमुख आतिथि हुनुहुन्थ्यो । कार्यक्रममा पूर्व मन्त्री शान्ता मानवी र वरिष्ठ बालसाहित्यकार ध्रुव घिमिरे निबन्ध विभागका सल्लाहकारका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

झरना सञ्‍चारका प्रबन्ध सम्पादक वासुदेव अधिकारीले कार्यक्रमको औचित्य प्रस्ट पार्नुका साथै स्वागत मन्तव्य राख्नुभएको थियो ।

निबन्ध विभागका सदस्य पार्वती राउत र अच्युत घिमिरेले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सदस्यहरू गीता सापकोटा र सोमनाथ दाहालले निबन्धका सैद्धान्तिक, व्यावहारिक पक्षका बारेमा विद्यार्थीसँग अन्तरक्रिया गर्नुभएको थियो ।

सहभागी छात्रा लियोना भट्टराईका विचारमा यो कार्यक्रम निबन्धको परिचय र प्रकार बुझाउँदै सजिलो गरी लेख्‍न सिकाउने खालको रह्यो । अर्का सहभागी कृति पोखरेलले कार्यक्रमको प्रभावकारीता प्रस्ट पार्दै अब त सजिलै निबन्ध लेख्‍न सकिने जानकारी दिनुभयो । प्रशिद्धिका श्रेष्ठले आजको कार्यक्रमबाट रमाइलो गरी निबन्धका बारेमा जान्न पाउँदा खुसी व्यक्त गर्नुभयो।

मन्तव्यका क्रममा ध्रुव घिमिरेले कार्यक्रम निकै प्रभावकारी र लाभदायी भएको जानकारी दिनुभयो । प्रमुख अतिथि रञ्‍जु पोखलेखका अनुसार यो कार्यक्रम बालबालिकालाई निबन्धका सैद्धान्तिक र व्यावहारिक पक्ष बुझाउन सफल रह्यो । उहाँले आगामी दिनमा साहित्यका अन्य विधाबारे पनि यस्ता अन्तरक्रिया सञ्‍चलान गर्न सुझाव दिनुभयो ।

कार्यक्रमका अध्यक्ष नर्मदेश्वरी सत्यालले निबन्ध कलाका लागि मात्र नभई विचारको कलात्मक अभव्यक्तिका लागि हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर सञ्‍चालन गर्ने जानकारी दिँदै बालबालिकालाई निबन्ध लेखेर पठाउन प्रेरित गर्नुभयो । साथै बालबालिकाले पठाएका मध्ये सर्वोत्त्कृष्ट निबन्धकारलाई पुरस्कृत गरिनेसमेत उद्घोष गर्नुभयो । 

उक्त कार्यक्रम साँझ ७.३० देखि ८.५० सम्म भर्चुअल रूपमा सञ्‍चालन गरिएको थियो ।