January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

सुनौला नव किरण

जनताको भावदेखी पर पर पर भो राज्य सत्ता विपक्ष
भ्रष्टाचारी बढायो अब जनहितको पक्षमा छैन वक्ष
जूवाका खालमाथी बसी सकुनी झैं बोल्छ जो छुद्रवाणी
आओ आओ सुनौला नव किरण हो पार्थ झैं वाण हानी ।।

सत्ता धारी धरामा गरल कुमतिले भासिएका गरामा
भ्रष्टाचारी हुँदा यी पथभ्रम परे चुक्लिका दल्दलामा
गर्दैनन् यी कसैले अब मुलुकको प्राणरक्षा हरायो
आओ आओ सुनौला नव किरण हो देश तिम्रो करायो।।

काला धब्बा रगतका चुसी धन बटुले होडबाजी गरेर
राता काला पहेंला रथहरू दगुरे स्वर्ण मुद्रा भरेर
काला झोलेहरू नै अघि अघि सरी गर्दछन् नित्य गान
आओ आओ सुनौला नव किरण हो देशको राख सान ।।

नेता राम्रा परीका सँग कुमतिका तापमा सल्किएका
लाली काली उज्याली तरल गरलको स्वादमा पल्किएका
जाग्दाजाग्दै निशामै प्रतिपल सब ती बन्दछन् मालदार
आओ आओ सुनौला नव किरण हो मालको भार झार ।।

निर्धा बृद्धा र बच्चा सब अमुक छन् बोल्न सक्तैन कोही
भोका नङ्गा बिचारा सब अछुत छन् चल्न सक्तैन कोही
ढाक्रे कर्मी हलीया श्रमिक युवकको देशमा बास छैन
आओ आओं सुनौला नव किरण नभै रातको अन्त्य छैन ।।

न्याय कान्ति सुशान्ति सब मुलुकको जालीका जाल पर्दा
रोगी जोगी र भोगी सम हुन पुगे दृष्टिमा लागिपर्दा
जूका साँढे उपियाँहरु सब मिले राज्य सत्ता हरायो
आओ आओ सुनौला नव किरण हो धर्ती तिम्रो डरायो ।।