January 14, 2025, Tuesday
२०८१ माघ २, बुधबार

तिमी

तिमी सत्ताको शक्तिमा छौ
आफ्नो इज्जत प्रतिष्ठा
पद र पैसामा देख्छौ
शक्तिको अहङ्कारले ग्रस्त छौ
ऐस आराममा मस्त छौ
तर
लोकले भन्छ
त्यति मात्र होइन
तिमी अनुजीवी र  भ्रष्ट पनि छौ ।
मलाई 
पुर्खाको इतिहासमा गर्व छ
तिमी पनि ती
स्वाभिमानी पुर्खाका सन्तान हौ भने
त्यो गौरवशाली इतिहास 
एकचोटि फेरि पढ
पुर्खालाई स्मरण गर
पानी पिउन नपाउँदा पनि
पुर्खाले शिर नझुकाएको इतिहास सम्झ
सम्पत्तिको लालसमा
मलाई सिनो खाने कुकुर नसम्झ
भनेको पनि याद गर
स्वाभिमान नझुकाएको त्यो आत्मागौरव बुझ
अभावमा नबिथोलिएको 
त्यो साहसलाई सम्झ र
आफूलाई एकचोटि उनीहरूसँग दाँजेर हेर ।
यो 
इतिहाँस लेख्ने बेला हो
भोलिको पुस्ताले तिमी रहेको 
इतिहास पढ्ने छन् 
त्यो इतिहासमा तिमी हुने छौ
तिम्रा कर्मको वृतान्त हुने छ
अहिले हामीले गर्व गरे झैँ
भोलिको पुस्ताले तिमी भएको
इतिहास पढेर गर्व गरुन् ।
यो
इतिहास बदल्ने बेला
तिमी
सत्ताको सिंहासनमै छौ
शक्तिको केन्द्रमा छौ 
स्वार्थको पर्दा च्यातेर
भित्री आँखा खोल
हृदयको झङ्कारलाई सुन
ठन्डा दिमागले सोच
स्वान बनी कति पछि लाग्छौ ?
सिंह बन्न तिमीलाई केले छेक्यो ?