तिहारमा फूलको प्रयोग र महत्त्व
विजयादशमी पछिको दोस्रो ठुलो चाड तिहार हामी नेपालीको घर आँगनीमा आइसकेको छ । हरेक वर्षको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यस पर्वलाई यमपञ्चक पनि भन्दछन् । दीप बालेर मनाइने पर्वलाई नेपालमा दिपावली र भारतमा दिवालीसमेत भन्ने गरिन्छ ।
हिन्दु धर्मावलम्वीहरूले तिहारलाई मुख्य चाडका रूपमा मनाउने प्रचलनबारे विभिन्न जनश्रुतीहरू विद्यमान छन् । त्रेता युगमा दशरथपुत्र श्रीरामले हरणमा परेकी आफ्नी पत्नी सीतालाई फर्काउने क्रममा भएको सङ्घर्षमा लङ्काधिपति रावणलाई वध गरी सपत्नी स्वदेश फर्कंदा अयोध्याबासीले भव्य रूपमा दीपावली गरी स्वागत गरेकाले सत्यको जितका रूपमा हालसम्म पनि यो चाड मनाइदै आएको हो भन्ने कथन छ । अर्को किंवदन्तीअनुसार भगवान् विष्णुले वामन अवतार धारण गरी बलिद्वारा बन्दी बनाइएकी लक्ष्मीलाई यसै दिन मुक्त गरेकोले पनि खुसीयाली स्वरूप यो चाड मनाइँदै आएको हो भनिन्छ । धार्मिक र पौराणिक मान्यताअनुसार मृत्युदेव यमराजले बर्सौँसम्म भेट हुन नपाएकी बैनी यमुनाकहाँ जाँदा बैनीले पाँचदिनसम्म आफ्ना दाज्यूका दूत, खबारी, रक्षक आदिका रूपमा काग, कुकुर गाई, गोरुलगायत दाज्यूको पूजन गरी सप्तरङ्गी टीका, रङ्गी विरङ्गी फूलहरूको माला, मिष्ठान्न परिकारहरूको भोजन गराई पठाएकी र यमराजले यसै गरी हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिनमा बहिनीसँग भेट गर्न आउने वाचा गरेको र सोही प्रचलन आजपर्यन्त पनि हिन्दुमात्रामा महान् पर्वका रूपमा प्रचलित छ ।
प्रसङ्ग तिहारको भन्दा पनि तिहारमा प्रयोग गरिने फूल र यसको महत्त्वसँग सम्बन्धित छ । औषधीय गुण भएको ‘फूल’ शब्द स्वयंमा पनि एउटा सौन्दर्य, शान्ति, प्रेम, सुगन्ध, सद्भाव, सम्मान र शालिनता बोध गराउने किसिमको छ । पुष्प पल्लवी, पुष्पलतिका, पुष्पपुञ्ज आदि भनिने फूलहरूको प्रयोग व्यापक छ । तिहारमा मात्र नभएर हाम्रा दैनिक धर्मकर्ममा र कार्य प्रकृतिअनुसार फूलको प्रयोग गरिन्छ । शुभप्रभातसँगै पूजापाठ, आरधना, भजन कीर्तनमा, मठमन्दिरमा देवीदेवताका निम्ति, पाठशालामा, विवाह, व्रतबन्धमा, देवकार्य, पितृकार्य सबैमा फूलको आवश्यक्ता पर्दछ । धर्म अनुष्ठान, शुभकार्य आदि फूल नभए शुभ र सान्दर्भिक ठानिँदैन । धर्मग्रन्थअनुसार विभिन्न भगवान्हरूलाई फरक–फरक रगका फूलहरू चढाइन्छ । देवालय या मन्दिरहरूमा भगवान्हरूले मन पराउने पुष्प अर्पण गर्दा प्रसन्न हुने र भक्तजनहरूको मनोकाङ्क्षा पूरा हुने, व्रत, जप–तप, आरती, उपवास आदि पूर्ण हुने विश्वास छ । फल, प्रसाद, रत्न, सुवर्ण, द्रब्य आदि चढाउनुभन्दा पुष्प अर्पण गर्दा मात्र पनि भगवान् प्रसन्न हुन्छन् । फूलले घर तथा वरपर रहेको विषाक्त ग्याँस, दुर्गन्ध हटाई वातावरण सुगन्धित तुल्याउँदछ । जसले शरीरमा स्फूर्ति ल्याउनुका साथै मनमा प्रसन्नता र शान्ति प्रदान गर्दछ । साथै नकरात्मक ऊर्जालाई नष्ट गर्दछ । फूलहरू ठाउँ, समय र मौसमअनुसार विभिन्न जाति र प्रजातिका हुन्छन् । ब्रह्मकमल, घण्टीफूल, सुनाखरी, पारिजात, नागकेशर, कुसुम, केतकी फूल, मौलसिरी, जुही, कदम्ब, चमेली, जाहिजुही, वसन्ती, चम्पा, मालती, वैजयन्ती, इन्द्रजौको, पलास, कुमुद, करबरी, चणक, बनमाला, कमल, चम्पा, गुलाब, लालुपाते, गोदाबरी, गुराँस, सुनगाभा, मखमली, लाहुरी, सयपत्री आदि हामीकहाँ प्रयोग हुने मुख्य फूलहरू हुन् ।
सभासमारोह, विजयोत्सव, स्वागत र बिदाई, रङ्गशालादेखि स्मसानघाट, देबाटो चौबाटोमा शालिक र मूर्ति, प्रतिमाहरूमा, मञ्चमा नेता, अतिथि र विजयीहरूमा घर आँगनमा, कोठाचोटा सजाउनमा समेतको प्रयोगले फूलको महत्त्व र आवश्यक्ता स्पष्टै दर्साउँछ ।
अझ तिहारको चाड नै फूल र दीपको चाड मानिन्छ । सबैका घरआँगनीमा ढकमक्क फुलेका सुगन्धित फूलहरूको बास्नामा रमाउन धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीसमेत सबैका घरमा बास गर्न आउने छिन् भन्ने जनविश्वास छ । ललाटमा सप्तरङ्गी टीका गलाएर रङ्गीबिरगी फूलको माला, विभिन्न पक्वान्न, मिष्ठान्न परिकारहरू खाने, दीप फूल, महालक्ष्मी भगवतीको प्रार्थना र महिमागान गाउँदै देउसीभैलो खेली मनाइने चाड तिहार साँच्चिकै सद्भाव, भाइचारा, प्रेम र सम्मानको द्योतक मानिन्छ ।
धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पौराणिक गाथासँग जोडिएर आउने फूल एउटा पथप्रदर्शक पनि हो । पौराणिक कालमा रावणले आफ्ना सौतेला भाइ कुवेरको पुष्पक विमानलाई युद्ध जित्ने कार्यका लागि प्रयोग गर्ने गरेको किंवदन्ती आजकालका हवाईयान र विमान बनाउने सोचका लागि उत्तिकै सहायकसिद्ध पथप्रदर्शक भएको मान्न सकिन्छ ।
माया प्रेम र भेटघाटको सौगात स्वरूप उपहार दिने अनि सम्बन्धलाई अझ निकट, सौन्दर्यपूर्ण र प्रगाढ तुल्याउन फूलको माला भाइटीकामा अनिवार्य मानिन्छ । जसै मङ्गलसूत्रविना विवाहको कल्पना गरिँदैन त्यसैगरी मालाबिनाको भाइटीका अधुरो हुने गर्दछ । मखमलीको माला दाजुभाइको दीर्घायुका रूपमा, सयपत्री र गोदावरी सुखमय जिन्दगीको कामना गर्दै र जाहिजुही र चमेली मनोकाङ्क्षा पूरा होस्, सफलता प्राप्त होस् भनी दिदी–बहिनी, दाजुभाइ र चेली माइतीबिचमा एकअर्कालाई पहिर्याइदिने प्रचलन छ ।
त्यसर्थ, तिहारमा फूलको मालाले शान्ति, सद्भाव, भाइचारा, उन्नति र दीर्घायु एवम् प्रगतिपथमा लम्किरहने शक्ति र प्रेरणा हामी सबैलाई मिलोस् ।
लेखकको सम्वन्धमा