February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा तीन पुरस्कारको निर्णय

२०८० कार्तिक २७, सोमवार, काठमाडौँ ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले २०८० सालमा प्रदान गरिने तीन पुरस्कारका लागि प्रतिभा चयन गरेको छ । प्रतिष्ठानको कार्यसमितिको एक बैठकले प्रतिभाचयनको निर्णय गरेको जानकारी प्रतिष्ठानका महासचिव यादव भट्टराई दिनुभयो ।

यस वर्ष ‘शङ्कर कोइराला आख्यान पुरस्कार’ आख्यानकार नारायण ढकाललाई, ‘कुमार-सरस्वती पुरस्कार’ समालोचक प्रा. डा. दयाराम श्रेष्ठलाई र ‘चूडामणि व्याकरण-कोश पुरस्कार’ शरच्चन्द्र वस्तीलाई अर्पण गर्ने निर्णय भएको छ ।

‘शङ्कर कोइराला आख्यान पुरस्कार’ र ‘कुमार-सरस्वती पुरस्कार’को राशी समान रु. २५,०००/-(पच्चीस हजार रुपैयाँ) रहेको छ भने ‘चूडामणि व्याकरण-कोश पुरस्कार’को राशी रु. ५१,१११/- (एकाउन्न हजार एक सय एघार रुपैयाँ) रहेको छ ।

कोशकार तथा भाषाव्याकरणका क्षेत्रमा योगदान गर्नुभएका श्री चूडामणि गौतमले शब्दकोश लेखन तथा नेपाली व्याकरणका क्षेत्रमा योगदान गर्ने एक जना साधकलाई प्रदान गर्ने गरी दायित्व वाङ्मय प्रतिष्ठान, नेपालमा रु. ८,००,०००/- (आठ लाख रुपैयाँ) अक्षयकोषको स्थापना गर्नुभएको छ ।

‘शङ्कर कोइराला आख्यान पुरस्कार’ आख्यानकार शङ्कर कोइरालाको नाउँमा स्थापित पुरस्कार हो भने ‘कुमार-सरस्वती पुरस्कार’ समालोचक प्रा. डा. कुमारबहादुर जोशी र उहाँकी धर्मपत्नीका नाउँमा स्थापित पुरस्कार हो ।

यी पुरस्कारहरू आगामी २०८० मङ्सिर ९ गते शनिबार काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गरिने छन् ।