गजल
न देखाउन सकिन्छ न भेटाउन सकिन्छ
मनमा यस्तो खत छ न मेटाउन सकिन्छ ।।
एक्ली भनी सबले हेला गरेका छन् कसलाई सुनाऊँ
बा-आमा छैनन् अरूलाई दुःख कहाँ देखाउन सकिन्छ !
दुनिया जोडी बाँधेर हिँड्दा पनि मन चसक्क चस्केको छ
के फल वा विषादि खाएर हजुरको याद मेटाउन सकिन्छ ।।
हजुरसँग भेटी सबै कुरा खोल्ने मन कति छ कति
एउटा पुरानो फोटो छ, त्यो हेरेर कहाँ भेटाउन सकिन्छ ।।
छोरा छोरी अनि मलाई एक्लै पारी हजुर त गै हाल्नु भो
मेरा शिरमा ठुलो भार छ अब कस्लाई बिसाउन सकिन्छ ।।
सोह्र सिङ्गार गरेकी सँगी देख्दा पनि मन निकै रुन्छ
आफू आमाले दिएको टीका चुरा कहाँ लगाउन सकिन्छ ।।
न देखाउन सकिन्छ, न लुकाउन सकिन्छ
आफ्नै एउटा यस्तो ‘प्रतिज्ञा’ न मेटाउन सकिन्छ ।।
लेखकको सम्वन्धमा