April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

मरण

मेरो मरण नहोस् !
भए पनि मेरै नेतृत्वमा होस्
आँसुको साटो मुसलधार वर्षा होस्
चितामा आगाको साटो ज्वलन्त दियो होस्
तब मेरो मरण होस् । 

मेरो लास खोलामा खरानी नहोस्
मृत्यु खेर जानुको साटो नौलो बिहानी छोडोस्
अँधेरी रातमा मेरो चिता जुन  झैँ चम्कियोस्
मान्छेलाई दृश्य मिलोस्
बाटो मिलोस् र वस्तु चिन्ने साहस मिलोस्
तब मेरो मरण होस् । 

मेरा हरेक इच्छा आकाङ्क्षा पूर्ण होउन्
जिब्राले जीवनको स्वाद पाओस्
सूर्योदयसँगै मेरो नाम जगत्‌मा जताततै पुगोस्
सपना नछुटोस्, सपना विपनामा परिणत होस्
तब मेरो मरण होस्
नत्र मेरो मरण नहोस् ।