सामुदायिक विद्यालय अभिभावक सङ्घले बुझायो ज्ञापन पत्र

२०८० कार्तिक २१
सामुदायिक विद्यालय अभिभावक सङ्घका अध्यक्ष श्री रामप्रसाद नेउपानेको अगुवाइमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति माननीय भानुभक्त जोशीसमक्ष सङ्घीय संसद सचिवालय, सिंहदरबार पुगी तेह्र जनाको एक प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको जानकारी उक्त सङ्घका सदस्य वासुदेव अधिकारीले दिनुभयो ।

उक्त ज्ञापनपत्र सङ्घका महासचिव एवम् वरिष्ठ पत्रकार बद्रीप्रसाद तिवारीले वाचन गरी सुनाउनुभयो । सो क्रममा वागमति प्रदेशका सांसद एवम् सङ्घका उपमहासचिव समिता खड्गीको पनि उपस्थिति रहेको थियो ।



ज्ञापन पत्रमा सामुदायिक विद्यालय अभिभावक सङ्घका विभिन्न उद्देश्यहरू समेटिनुका साथै मुख्य रूपमा सामुदायिक विद्यालयको गुणस्तर र वृद्धि विकासमा सरकारद्वारा गरिने हरेक गतिविधि र क्रियाकलाप एवम् ऐन, कानुन र नीति निर्माण गरिँदा यस सङ्घको उल्लेखनीय भूमिकालाई समावेश गरिनुका साथै सामुदायिक विद्यालयका अभिभावक र विद्यार्थीहरूको हितलाई ध्यान दिन अनुरोध गरिएको छ ।





ज्ञापन पत्र बुझ्दै माननीय सभापति जोशीले शिक्षकको विकास र समृद्धिका योजना तथा ऐन, कानुन र नीति नियम तर्जुमा गर्दा सङ्घलाई सहभागी गराइने कुरा व्यक्त गर्नुभयो भने खस्किँदो सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा शिक्षक, विद्यार्थी र अभिभावकको अन्योन्याश्रित सम्बन्ध रहने साथै संस्थागत विद्यालय र सामुदायिक विद्यालय बिचको गहिरँदो असमानतालाई ख्याल गर्दै समान पहुँचको ग्यारेन्टी गर्न सरकारलाई साथ सहयोग पुर्याउँदै सङ्घ, प्रदेश र स्थानीय तहसम्म सामुदायिक विद्यालय अभिभावक सङ्घले उल्लेखनीय भूमिका निर्वाह गर्न सफल बनोस् भनी शुभकामनासमेत व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्