November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

सामुदायिक विद्यालय अभिभावक सङ्‍घको शुभकामना

कार्तिक, १
सामुदायिक विद्यालय अभिभावक सङ्‍घका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षता, राष्ट्रिय गानका रचयिता प्रदीप कुमार राई (व्याकुल माहिला) को प्रमुख आतिथ्यमा बडादसैँ, शुभ-दिपावली, नेपाल सम्वत् ११४४ र छटपर्व २०८० को पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सिद्धपोखरी पार्टी प्यालेस भक्तपुरमा आज सम्पन्न भयो । 

सङ्‍घका महासचिव बद्री तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रम प्रमुख अतिथि व्याकुल माहिलाद्वारा पानसमा बत्ती बाली उ‌द्घाटनपछि सुरु भएको थियो । 

प्रमुख अतिथि माहिला, विशेष अतिथि कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ लगायत अन्य अतिथिहरूले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको कार्यक्रममा अधिकांश वक्ताहरूले खस्किंदो सामुदायिक विद्यालयको अवस्था, वर्तमान युवावर्गमा देखापरेको शिक्षाप्रति नैराश्य, ज्येष्ठ नागरिकहरूको असुरक्षा र अव्यवस्था आदिका बारेमा चिन्ता व्यक्त गर्नु भयो भने सामुदायिक विद्यालयको भविष्य सुनिश्चित गराउन अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई संस्कार सिकाउनु पर्ने र विद्यालयका शिक्षकहरू अझ बढी जिम्मेवार हुनुपर्ने कुरासमेत औल्याउनु भयो ।

यस अभिभावक सङ्‍घले देश भरका सबै पालिका र वडाहरूसम्भ सिपमूलक, प्राविधिक शिक्षाको व्यवस्थापन र ऐनकानुन तर्जुमा गराउन चेतनामूलक सन्देश छर्दै सङ्‍घको साङ्‍गठनिक विस्तारलाई महत्त्व दिइएको कुरा स्पष्ट पार्दै कर्यक्रमका अध्यक्ष नेउपानेले सबै उपस्थित महानुभावहरूलाई धन्यवाद दिई कार्यक्रम समापन गर्नु भयो ।