April 30, 2026, Thursday
२०८३ बैशाख १७, बिहीबार

प्रसववेदना

यो सृष्टि रचना चुनौती बलियो मैले बहन गर्नुथ्यो
जस्तै दुःख भए पनि सहजले मैले सहन गर्नुथ्यो ।।

आमा सत्य म हुँ भनी धरतीमा बाचा गरेको थियो
सुन्दर फूल फुलाउनु जगतमा मैले परेको थियो ।।

प्राणको अन्त्य बखत थियो बाँचौं हरे के गरी
बडो ताप थियो स्वयम् हृदयमा आगो बले सरी ।।

सुकेथ्यो मुख पनि थिएन रसिलो घाँटी सुकेको थियो
पीडा प्रसवको छ कष्ट बहुतै सासै रोकेको थियो ।।

नौ महिना यस गर्भमा कठिनले मैले लिएकी थिएँ
जीवन जोखिमको परवाह नगरी यो भार सुम्पी लिएँ ।।

गर्थ्यो प्राण शरीरमा छटपटी खोज्थ्यो हरे उम्कन
मृत्युलाई थियो लडेर मैले अग्‍निपरीक्षा दिन ।।

पानी–पोखरी झैं डुब्यो रगतमा आधा शरीरै पनि
ज्यानको बाजी दिई लडें मृत्युसँग आमा म बन्छु भनी ।।

दुइटा धारमा थियो शरीर यो बाँच्‍ने कि मर्ने भनी
देखी जीवनको अनेकौं खतरा भागेछ मृत्यु पनि ।।

कस्तो युद्ध थियो कठोर बलको व्यथा बढ्यो झन् झन
पैदा बालक हुन्छ यो धरतीमा फाट्यो सब बन्धन ।।

यस्तो कष्ट खपेर मात्र मैले सकें नि आमा हुन
जीवन जोखिममा परेर मरने आमा हजारौं छन ।।

झुठो हैन कदापि सत्य सब हुन् आमाहरूको कथा
सृष्टिकर्ता ब्रह्माजी हुन् भनिरहँदा आश्चर्य मान्छु म त ।।

आमा जीवित सत्य छन् जगतमा यो सृष्टि आमाबिना
सम्भव छैन किन्तु यो धरतीमा भजिन्छन् ब्रह्मा किन ?