पोषण प्रदर्शनी
असोज १५ ।
आज मनोहर मा.वि. गोंगबुमा पोषणयुक्त खाना खान प्रेरित गर्ने उद्देश्यले ‘पोषण प्रदर्शनी’ कार्यक्रम सम्पन्न भयो ।
विद्यालय नर्स कविसा श्रेष्ठको सुझाव र संयोजनमा ओम स्वास्थ्य क्याम्पस, चाबहिलका पिबिबिएन् र बिएस्सी तहमा अध्ययनरत विद्यार्थीद्वारा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
नियमित रूपमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्दा तथा बी.एम्. आई. निकाल्दा पोषण प्रदर्शनी गरे विद्यार्थीलाई लाभ हुन सक्ने निष्कर्ष विद्यालय नर्स श्रेष्ठको थियो । त्यहीअनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयमा आयोजित कार्यक्रमा छ सय सत्तरी जनाले अवलोकन गरेको जानकारी पनि विद्यालय नर्स श्रेष्ठले दिनुभयो । बालविकासदेखि दश कक्षासम्म अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरूले समेत प्रदर्शनी अवलोकन गर्नुभएको थियो । प्रदर्शनीमा पिबिबिएन् तहका तिस र बिएस्सी तहका बिस विद्यार्थी तथा पाँच शिक्षक आयोजकका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा पोषणयुक्त सन्तुलित आहार, उमेर समूहअनुरूप खानेकुरा, पोषण थाली, पिरामिड, समूहअनुसार विभाजित खानेकुरा, उमेर समूहअनुसार चाहिने खेलकुद सामग्री, किशोरीका लागि छाउपडी प्रथा, महिनावारी व्यवस्थापन, पत्रुखाना, हात धुने चरण, दाँत माझ्ने चरणहरू विशिष्ट रूपमा प्रदर्शन गरिए ।
विद्यालयका नि. प्रधानाध्यापक कमला पौडेलले उक्त पोषण प्रदर्शनी निकै प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न भएको जानकारी दिनुका साथै यति राम्रो कार्यक्रमको अवसर मिलाइदिने ओम क्याम्पसलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोग पाउने अपेक्षा गर्नुभयो ।
प्रतिकृया दिनुहोस्