पन्ध्र शाब्दिक कविता
एक
हुँदा हुरहुर आउँछन्
आइपर्दा साटसुट भाग्छन्
स्वार्थी परिचय साट्छन् ।
दुई
परापूर्व गाउँले परम्परा
पार लाउँछ कामधन्दा
अर्मपर्म हिउँद बर्खा ।
तीन
गबुवाको दुध सुलक्षण
रित्तो डोको कुलक्षण
दुवै दिन सामान्य ।
चार
केलाउँदा अर्काको दोष
हराउँछ आफ्नै होस
हानि उसैको होस् ।
पाँच
खुकुरी अगि अगि
अचानो पछि पछि
आखिरकार दुर्भागिनीको पतिदेव ।
छ
नर नारी भन
दुई जात गन
उप्रान्त सबै मानवकृत ।
सात
ब्यापक सञ्चार माध्यम
उदाङ्गो सङ्कुचित विचार
आरोप प्रत्यारोपको बजार ।
आठ
ल्याउने बेलामा ल्यायो
सन्तान जन्माउन लायो
कुमान्छेले जात छुट्यायो ।
नौ
जुलुसमा मान्छेको हुल
षडयन्त्र लिप्त बहुल
गर्दैन कसैले कबुल ।
दश
कोठेबारीमा फलेको तुलफूल
भस्मेमा रोपेको कन्दमूल
रमाइलो माघे सङ्क्रान्ति ।
एघार
मनको भाव
कलमले बुझ्छ
पाठकमा प्रतिक्रिया ।
बाह्र
भावनाको सागर
कृतिकारको जाँगर
उदाउँछ विधा ।
तेह्र
सयत्न सिँगारिन्छे
मुस्कुराउँदै डुल्छे
तरुण नतमस्तक ।
चौध
दोषीको रजाइँ
पीडितको भोगाइ
सुक्रीबिक्रीमा कानुन ।
पन्ध्र
मानव प्रवृत्ति
सुखमा फुरफुर
दुःखमा झुरझुर ।
लेखकको सम्वन्धमा