शाब्दिक कविता वाचनको कार्यक्रम सम्पन्न

१३ असोज ।
झरना सञ्चारको नियमित कार्यक्रम ‘कविता वाचन’ मा यस पटक शाब्दिक कविता वाचन गरिए । यो शाब्दिक कविता वाचनको पहिलो कार्यक्रम हो । प्राज्ञ नर्मदेश्वरी सत्यालको अध्यक्षता, प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्य, स्रष्टा तथा पूर्व मन्त्री शान्ता मानवीको आतिथ्य रहेको उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सञ्चालन गरिएको थियो ।
झरना सञ्चारका प्रबन्ध सम्पादक वासुदेव अधिकारीलगायतको उपस्थितिमा शाब्दिक कविताका अभियन्ताहरू शिव खनाल, अगस्टिन राई, सविता केसी, कृष्णकुमार वैद्य, अम्विका अधिकारी, सुस्मिता अधिकारी, सुरेन्द्र शाही ‘गुलाब कान्छो’ र सोमनाथ दाहालले आआफ्ना शाब्दिक कविता वाचन गर्नुभएको थियो । प्राविधिक समस्याका कारण चन्द्रावती अधिकारीले आफ्ना रचना वाचन गर्न सक्नुभएन । उहाँका रचनासमेत सविता केसीले वाचन गर्नुभयो । समय अभावका कारण प्रत्यक्ष रूपमा उपस्थित भई रचना वाचन गर्न नसक्ने कारण खुलाई राजेशराज गड्तौलाले पहिले नै रचना वाचन (रेकर्ड) गरी पठाउनुभएको थियो । उहाँको त्यही भिडियो कार्यक्रममा प्रस्तुत गरियो ।
रचना वाचनकै क्रममा अभियन्ता शिव खनालले शब्दिक कविताको अवधारणा प्रस्तुत गर्नुभयो । उहाँका अनुसार शब्द गणना गरी शाब्दिक कविता लेखिन्छ । ए, दुई, तीन, चार… आदि शब्दका तीन/चार पाउबाट शाब्दिक कविताको संरचना निर्माण हुन्छ । यस्ता कवितामा अनुप्रासको प्रयोग वैकल्पिक हुन्छ । शाब्दिक कविता कविताको उपविधा नभई छुट्टै शैली हो ।
अतिथि शान्ता मानवीले शाब्दिक कविताका बारेमा जान्ने र केही बुझ्ने मौका पाएको जानकारी दिँदै आफ्नो एउटा कविता वाचन गर्नुभयो ।
प्रमुख अतिथि प्रा.डा. हेमनाथ पौडेलले कार्यक्रम र शाब्दिक कविताका बारेमा टिप्पणी गर्नुभयो । उहाँका अनुसार वाचन गरिएका शाब्दिक कवितामा समसामयिक विषयवस्तु समेटिएको छ । तिनमा एक किसिमको झङ्कार उत्पन्न गर्न सक्ने क्षमता देखिन्छ । समग्रमा कविता राम्रा छन् । उहाँले साहित्यमा देखिने नयाँ नयाँ विधा तथा उपविधाका चुनौती पनि चर्चा गर्नुभयो । नयाँ विधा तथा उपविधा घोषणा गर्न सजिलै भए पनि तिनलाई निरन्तरता दिने र स्थापित गराउने कार्य चुनौतीपूर्ण हुन सक्छ । त्यसका लागि राम्रा रचनाहरू प्रशस्त लेखिनुपर्छ । त्यसपछि सिद्धान्त बनाउनुपर्छ । सबै कविता शब्दमा नै लेखिन्छन् त्यसैले छुट्टै शाब्दिक कविता भन्नु उपयुक्त नहुन सक्छन् । यसको अर्को कुनै नाम राख्ने हो कि ! अहिले प्रारम्भिक अवस्थामै भएकाले सिद्धान्त बनिनसकेको हुन सक्छ । सङ्ग्रह प्रकाशन गर्ने र लेखाइमा निरन्तरता दिने हो भने यस प्रकारका कविताहरू स्थापित हुन सक्छन् ।
कार्यक्रमका अन्त्यमा सभाध्यक्ष नर्मदेश्वरी सत्यालले शाब्दिक कविताका बारेमा जानकारी पाउँदा खुसी व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद दिनुभयो । सभाध्यक्षको मन्तव्यसँगै कार्यक्रम समापन गरियो ।
प्रतिकृया दिनुहोस्