June 25, 2025, Wednesday
२०८२ असार ११, बुधबार

मेरो यात्रा

हरेक दिन म
सूर्यसँगै यात्रामा हुन्छु 
दिनहुँ भेट्न चाहनेहरू खोजिरहन्छन् 
भेट्ने समय यकिन हुँदैन
भेट्न खोज्‍नेहरूलाई भन्ने गरेको छु
घाम डुबेपछि भेट्न आऊ
तर
घाम झुल्कनुअघि नै फर्किने सर्तमा ।
यात्रामा म 
सँधै सूर्यको सातै रङसँग हुन्छु
रङसितै बात गरिरहेको हुन्छु
रङ्गीन संसारमा भुलिरहेको हुन्छु
रङले सबैलाई आकर्षित गर्छ
आकर्षित हुनेहरू
वरिपरि झुम्मिन्छन्
तँछाड मछाड गर्दै माग्‍न थाल्छन्
माग्‍नेहरू सबैलाई 
सफा क्यानभास लिएर आऊ भन्छु
मागेको जति दिन्छु 
तर
इन्द्रेणी बनी धरतीमै खसाउने सर्तमा ।
यात्रामा म
सौर्यमण्डलभित्र परिवर्तन हुने
पलपलका रोमाञ्‍चक दृश्यहरू हेर्छु
हरेक दृश्यले आश्‍चर्य जगाउँछ
रङ्गीविरङ्गी प्राकृतिक छटाहरूले
आनन्दित बनाउँछ
ठाउँठाउँमा आनन्द खोज्दै आएकाहरू भेटिन्छन्
नजिक आउन खोज्‍नेहरूलाई आऊ भन्छु
सकेजति आनन्दको अनुभूति गर भन्छु
तर
प्रकृति झैँ अविचलित भई धरतीलाई हराभरा बनाउने सर्तमा ।
यात्रामा म 
कहिलेकाहीँ सूर्यसँगै कठिन मोडमा पुग्छु
बादले आफ्नै रौद्र रूप देखाउँछ
सूर्यका किरणहरूलाई कालो पर्दाले छोप्छ
हेर्दै डरलाग्दो जात्रा देखाउँछ 
उसको घनघटाको चर्को स्वरले
धरती नै थर्कमान बनाउँछ
कतै दर्के पानीले रुझाउँछ
कतै हिउँले हिर्काउँछ
कतै असिनाले ठुङ्छ
कतै बाढीले बगाउँछ त 
कतै पैरोले थिच्छ 
प्रकृतिको यो विनासक रूपबाट
आत्तिएकाहरू आश्रय खोज्दै आउँछन्
आएकाहरूलाई संहालेर राख्छु
मनलाई कठोर पार भन्छु
तर
सहनशील बनी प्राकृतिक विपत्ति सहने सर्तमा ।

छथर ओख्रे ५, तेह्रथुम (हाल काठमाडौँ)