कृति लोकार्पण गर्दै हीरक जन्मोत्सव मनाइयो
२०८० असोज ३
राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालद्वारा आयोजित प्राज्ञ तथा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालको ‘प्रभातमय जिन्दगी’ र ‘गुराँस झैँ’ एवम् साहित्यकार जयन्ती स्पन्दनको ‘खेलौ रमेर’ पुस्तकको सार्वजनीकरणका साथै डा.मदन प्रसाद सत्यालको हीरक जन्मोत्सव समारोह नयाँवानेश्वर तिनकुनेस्थित सिद्धार्थ कटेजमा भव्यताका साथ सम्पन्न भयो ।
सङ्घका अध्यक्ष राम विनय श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि नेकपा एमालेका नेता एवम् सांस्कृतिक विभागका इन्चार्ज माननीय रघुजी पन्त हुनुहुन्थ्यो ।
यसैगरी राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, नर्मदेश्वरी सत्यालकी आमा खेमकुमारी घिमिरे, डा.मदनप्रसाद सत्याल र प्रनिसा रेग्मी (तीन पुस्ता) विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । प्रा.डा.जीवेन्द्र देव गिरी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा.हेमनाथ पौडेल, वासुदेव अधिकारी, विधान आचार्य, भाषा आयोगका सदस्य मातृका पोखरेल, लक्ष्मी माली, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, स्नेह सायमी, डम्बर पहाडी, अनिल पौडेल, सीता शर्मा, सुशिला प्रधानाङ्ग, डा.सावित्री श्रेष्ठ, लक्ष्मी मिश्र, प्रतिभा पुन, नन्दु उप्रेती, खेमराज निरौला, डा.गोविन्दप्रसाद आचार्य, राममणि ढुङ्गेल, प्रशान्त खरेल, डा.नारायणप्रसाद रेग्मी, डा.प्रदीप के.सी., डा.जया सत्याल, विजया सत्याल, यादव भट्टराईलगायतका व्यक्तित्वहरू तथा डा.मदनप्रसाद सत्याल तथा नर्मदेश्वरी सत्यालका आफन्त तथा मान्यजनहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
सङ्घका उपाध्यक्ष रमेश पोखरेलद्वारा सञ्चालित समारोहमा आमन्त्रित सम्पूर्ण अतिथिहरूलाई डा. जया सत्यालले स्वागत गर्नभएको थियो ।
विशिष्ट अतिथि श्रद्धेय आमा खेमकुमारी घिमिरेले पानसमा बत्ती बालेर समारोहको उद्घाटन गर्नुभयो भने प्रमुख अतिथि, अतिथि एवम् श्रष्टाहरूसमेतको सहभागितामा उक्त पुस्तकहरू लोकार्पण गरियो ।
कार्यक्रमका विशेष अतिथि प्रेमनाथ अधिकारीले डा. मदनप्रसाद सत्याल नमुना अभिभावक भएको, उहाँहरूको सिङ्गो परिवार उदाहरणीय रहेको र सबै छोराछोरीले समाजमा विशिष्ट योगदान गरिरहनुभएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि माननीय रघुजी पन्तले हामीले हाम्रा बालबालिकालाई सानैदेखि मानवीय बनाउने काम गर्नुपर्छ र त्यो काम बालसाहित्यले गर्छ । आजको यो विशेष समारोहले त्यो कुराको सङ्केत गरेको छ, पुस्ता जोडेको छ भन्नुभयो ।
श्रष्टाद्वारा लिखित गुराँस झैँ’ र ‘खेलौं’ रमेर’ बालकवितासङ्ग्रहको प्राध्यापक लेखप्रसाद निरौलाद्वारा समीक्षा गरियो भने छन्दात्मक नियात्रा ‘प्रभातमय जिन्दगी’ प्रा. डा. देवी नेपालले समीक्षा गर्नुभयो ।
नर्मदेश्वरी सत्यालका आमा देखि नातिनीसम्मको चार पुस्ता एउटै मञ्चमा देखिएको यस कार्यक्रमले अनुशासित, इमान्दार, लगनशील, मिहिनेती एवम् बौद्धिक परिवार कस्तो हुन्छ भन्ने नमुनासमेत प्रदर्शन गरेको थियो ।
चार पुस्ता जोडिएको यो समारोह ऐतिहासिक र अनुकरणीय भएको विचार व्यक्त गर्दै अध्यक्षद्वारा सबैलाई धन्यवाद दिई कार्यक्रम समापन गरियो ।
प्रतिकृया दिनुहोस्