नेपाल मुक्तक प्रतिष्ठनले गर्यो दुई कार्यक्रम
काठमाडौँ, ३० भदौ ।
आज नेपाल मुक्तक प्रतिष्ठनले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा दुई कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल मुक्तक प्रतिष्ठनका अध्यक्ष रामकाजी कोनेको अध्यक्षता र वरिष्ठ साहित्यकार, चलचित्र निर्देशक, गीतकार यादव खरेलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको पहिलो सत्रमा व्यवसायी, साहित्यकार तथा कलाकार प्रकाशलाल श्रेष्ठको मुक्तक सङ्ग्रह ‘भित्र कतै दुखेपछि’ लोकार्पण भएको छ ।
नेपाल मुक्तक प्रतिष्ठनका सदस्य इन्जिनियर विष्णुबहादुर सिंहले स्वागत गर्नुभएको सो कार्यक्र प्रमुख अतिथिले दीप प्रज्ज्वलन गरेपछि औपचारिक रूपमा सुरु भएको थियो ।
पुस्तक लोकार्पणपछि मन्तव्यका क्रममा साहित्यकार रुद्र ज्ञवालीले कृतिकार प्रकाशलाल श्रेष्ठका विविध पक्षमा बोल्नुभयो । उक्त पुस्तकको भूमिकासमेत लेख्नुहुने प्रा. डा. लक्षण गौतम, त्रिचन्द्र क्याम्पसका पूर्व क्याम्पस प्रमुख वसन्तलाल श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार तथा गजलकार ज्ञानुवाकार पौडेलले शुभकामना मन्तव्य प्रकट गर्नुभयो । मन्तव्यकै क्रममा पौडेलले उमर खैयामका रुवाइबाट प्रभावित भएर भन्दा पनि पूर्वीय साहित्य परम्पराकै उपजका रूपमा नेपाली मुक्तक स्थापित र विकसित भएको विचार प्रकट गर्नुभयो ।
कृतिकार श्रेष्ठले उपस्थित सम्पूर्णमा धन्यवाद प्रकट गर्दै आफ्नै सहपाठी तथा नेपाल मुक्तक प्रतिष्ठनका अध्यक्ष रामकाजी कोनेबाट आफू मुक्तक लेख्न प्रेरित भएको स्पस्ट पार्नुभयो ।
प्रमुख अतिथि खरेलले ‘भित्र कतै दुखेपछि’ पुस्तकका केही मुक्तक पढ्दा नै ती निकै आकर्षक रहेको पुष्टि हुने जानकारी दिनुभयो ।
कार्यक्रमका अध्यक्ष रामकाजी कोनेले मन्तव्यका क्रममा ढिलो भए पनि आफ्ना मित्रको राम्रा मुक्तकहरूको सङ्ग्रह प्रकाशित हुँदा खुसी प्रकट गर्नुभयो । उहाँको मन्तव्यसँगै कार्यक्रमको पहिलो सत्र समापन भयो ।
पहिलो सत्रको अन्त्यपछि यादव खरेलबाट मुक्तक वाचन गरी कार्यक्रमको दोस्रो सत्र (मुक्तक वाचन) को प्रारम्भ गरियो । रामकाजी कोने, ज्ञानुवाकार पौडेल, ममता मृदुल, जसध्वज गुरुङ, रुद्र ज्ञवाली, विजयध्वज थापा, शान्ति शर्मा, किशोर पहाडीलगायत दुई दर्जन जति स्रटाहरूले मुक्तक वाचन गर्नुभयो ।
उक्त दुवै कार्यक्रम नेपाल मुक्तक प्रतिष्ठनका महासचिव यादव भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्