September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

शाब्दिक कवितामा कृष्ण अष्टमी

कविता साहित्यको प्राचीनतम र सर्वाधिक लोकप्रिय विधा हो । यो प्रारम्भदेखि वर्तमानसम्म प्राचीन तथा नव नव स्वरूपमा पाठकहरूको मन जित्न सफल भइरहेको छ । 

कविताका नव रूपमध्ये एक हो- शाब्दिक कविता । केही कविहरू शाब्दिक कविता रचनामा निकै सक्रिय हुनुभएको छ । उहाँहरूको सक्रिय लेखनले यस उपविधालाई परिचित र स्थापित गराउने राम्रो सम्भावना देखिएको छ । 

शब्द गणना गरी लेखिने भएकाले शाब्दिक कविता भनिएको यो कविताको लघुतम स्वरूप हो । यसका स्रष्टाहरू सामाजिक सञ्‍जालमा समूह बनाएर नियमित अन्तर्क्रिया गर्दै यस विधालाई स्थापित गराउने प्रयत्नमा लागिरहनुभएको छ । उहाँहरूका रचना दिनहुँजसो विभिन्न सञ्‍चार माध्यममा प्रकाशन भइरहेका छन् । यसका साथै विभिन्न पर्व, दिवस तथा विभिन्न अवसरसँग सम्वन्धित रचना प्रकाशन गरिने भएकाले पनि यो विधा छिट्टै स्थापित हुने देखिन्छ । दिनहुँजसो देखिने नयाँ स्रष्टाहरूको आगमनले यस विधाको श्रीवृद्धिलाई नै सङ्केत गर्दछ ।

शाब्दिक कविताका स्रष्टाहरू आफ्ना रचनामा समसामयिक सन्दर्भ, विषय, चाडपर्व, दिवस आदिलाई कसरी स्थान दिनुहुन्छ भन्ने बुझ्‍न ‘शब्दिक कविता (word poet) परिवार’ नाम समूह अवलोकन गरियो । त्यस समूहमा पाइएका कृष्ण अष्टमीसम्बन्धी रचना र रचनाकारहरू यसप्रकारका छन् :-  

१. शंकर कार्की

चतुर्‍याइँको राजा
कृष्ण कालेलाई
पुज्दैछन् आज।

भक्तजनको भेला
हाम्रो संस्कृति
कृष्णको मेला ।

२. अम्विका अधिकारी

कृष्णको जन्मदिन
विसङ्‍गतिको अन्त्य
नेताको जित
जनबोली बन्द ।

गोकुलको जन्म
बृन्दाबनमा खेल्ने
गोपीको चीरहरण
कंसलाई पेल्ने

३.मधुसुदन प्रसाद घिमिरे

कृष्ण जन्म भाे
कंस मुक्ति हाे
वसुदेवकाे
माथै पवित्र भाे

४.  सोमनाथ दाहाल

अनन्त कंश
बोकेर युग
पर्खी बसेछ
एउटा कृष्ण ।

तोडेर जन्जिर
निस्कँदा वासुदेव
उदय हुन्छ
नव युगको ।

५. सुधा बाँसकोटा ढकाल

तिमी हाै सहारा
हे कृष्ण कन्हैया
मेराे संसार ।

६.सुरेन्द्र शाही ‘गुलाब कान्छो’

एक युगका महारथी
हजारौँ गोपिनीका साथी
कृष्ण कति जाति ।

७. राजेशराज गड्तौला

कृष्णजीको लीला
सारीको अपहरण
भगवान् मानियो । 

गोकुलमा कृष्ण
मथुरामा वंशी
गोपिनी मख्ख । 

कृष्णको जन्म
मथुरा जेलमा
कंसको सर्वनाश ।

प्रस्तुत नमुनाले कुनै चाडसँग सम्बन्धित शाब्दिक कविता कसरी लेखिएका छन् भन्ने बुझ्‍न सहज हुने नै छ । यसै गरी अन्य विभिन्न सन्दर्भ र दिवससँग सम्बन्धित शाब्दिक कविता पनि लेखिएका छन् । समयक्रममा तिनका बारेमा पनि प्रकाश पार्ने प्रयत्न गरिने छ ।