सिकार
अचेल साना मान्छे भेटिँदैनन् सडकाँ । जताततै ठुला मान्छेको भिड । कता गए सानाहरू ?
जन्तवीकाे प्रश्नपछि सनमले आँखा डुलाए वरिपरि । मान्छेहरू सडकभरि काम गरिरहेका थिए । सामान ओसारपसार, खेतबारीमा तरकारी गाेडमेल, कति त सरसफाइमा व्यस्त । तिनैलाई देखाउँदै- उः देखिनौ ? काममा जाेतिँदै गरेका । ती सबै साना त हुन् ।
मन लगाएर सनमकाे कुरा सुनेकी जन्तवीले भनिन्- हँ, काम गर्ने मान्छे साना ? के भन्दै छौ तिमी, हाेसमा त छौ ?
तिमी छैनौ हाेसमा ! यसरी पसिना काढी काढी काममा जाेतिएकाे देखी देखी साना मान्छे खाेइ ? रे अचम्म छ !
यस्ता कुरा सुन्दा त मलाई रुम कि हाँसूँ भयाे । अझ पढेलेख्या मान्छे रे बाबै ! तिमीले भन्न खाेजेकाे के हँ ? यी काम गरिरहेका मान्छे साना ? गरिखाने वर्ग सानाे ?
अनि के त ! तिमीलाई के भाे जन्तवी ? यसरी घामपानी टाउकाेमा थापी थापी काम गर्ने मान्छे साना नभए ती महलमा बस्ने कारमा सैर गर्ने साना हुन सक्छन् त ? सनमले यिनैलाई ठुला ठाने ।
सक्छन् हाेइन हुन् नै साना ती । पसिना बगाउनेकाे जग टेकेर महल पुगेका कसरी ठुला भए ? यी ठगी खाने घुस्याहा फटाहा ठुला ? तिनै श्रमिकले तिरेको कर हसुरेर कार चढ्ने शाेषक सामन्त ठुला ?
हाे, तिमीहरू जस्ता तिनकै पछि लाग्छौ । वाह वाह गरेर भ्रष्टाचार गर्न उक्साउँछौ । तिनकै समर्थनमा ढुङ्गा हान्छौ, टायर बालेर प्रदूषण फैलाउँछौ । भ्रष्टाचारीकाे पक्षमा उभिन्छौ । उनीहरू अरू लुट्न कस्सिन्छन् । कि तिमीहरूलाई पनि भाग दिन्छन् र हाे हँ ?
जन्तवीका कुरा सुनेर राताेपिराे अनुहार पारेका सनमले भने- तिमी पनि त कसैको समर्थन गर्छ्यौ नि के मलाई मात्र फटाहाकाे समर्थक भनेर हेपेकी ! आफ्नो अनुहार पनि हेर न ऐनमा ।
हाे, कसैको समर्थन गर्छु तर खै कुन दुष्टकाे समर्थनमा नारा जुलुस गरेको देख्यौ /सुन्यौ ? हाे, समर्थन गर्नुपर्छ नैतिक आचरणकाे, सुकर्मकाे, देश र जनताको भलाइकाे वकालत गर्ने विचार र व्यवहारकाे तर यी बाेली र व्यवहारकाे सन्तुलन बिग्रेका फटाहाहरूकाे मनाेबल बढ्ने कुनै काम गर्ने हाेइन बहिष्कार गर्ने हाे, गरेकी पनि छु । बुझ्यौ ?
नबिराउनु नडराउनु भनेझैं जन्तवीकाे तर्क सुनेर लुत्रुक्क परेका सनमले भने-तिम्रो कुरा ठिकै हाे जन्तवी । केकाे ठिकै नि ! ठिक हाे, साेरैआना ठिक भन्ने आँट गर न जन्तवीले थपिन् ।
आफूले पछ्याएका पार्टीनेताले जे जसाे गरे पनि सुगन्धै ठान्ने अरूले गरेका जनहितकारी काम बेठिक देख्ने माेतियाविन्दु पालेकाे अन्धभक्तिले हाे राजनीतिक प्रदूषणमा मलजल गरेको । यस्ताे प्रवृत्तिले हामीलाई दुख दिइरहेकाे छ र देश तिनै सन्तुलन गुमाएका भ्रष्टहरूकाे सिकार बनिरहेकाे छ । के याे तिताे सत्य बुझेर युवाले सही विषय अघिबढाउन ढिलो भएन ?
लेखकको सम्वन्धमा