January 20, 2025, Monday
२०८१ माघ ७, सोमबार

साहित्यकार भट्टराईलाई कवि लेखनाथ ज्ञवाली वाङ्मय पुरस्कार

काठमाडौँ।      
कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानले हालै एक समारोहको आयोजना गरी साहित्यकार बालकृष्ण भट्टराईलाई उहाँको निवासमै पुगेर कवि लेखनाथ ज्ञवाली वाङ्मय पुरस्कार २०८० (रु. १५,०००/-) द्वारा पुरस्कृत गरेको छ ।

कवि लेखनाथ ज्ञवालीको तेह्रौँ स्मृति दिवसका अवसरमा गत ११ गते रूपन्देहीको शङ्करनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार प्रदान गरिएको भए पनि साहित्यकार भट्टराई काठमाडौँमै रहनुभएको हुनाले उहाँलाई र प्रतिष्ठानका सल्लाहकारद्वय डा. मोदनाथ प्रश्रित तथा अर्जुन ज्ञवालीलाई समेत यसै अवसरमा प्रतिष्ठानबाट सम्मान गरिएको थियो। साहित्यकार प्रा. डा. कपिल लामिछानेले उहाँहरूलाई सम्मान गर्दै नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व मोदनाथ प्रश्रित, विशिष्ट प्रतिभा बालकृष्ण भट्टराई र अर्जुन ज्ञवालीलाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

सो अवसरमा पुरस्कृत व्यक्तित्व बालकृष्ण भट्टराईले कवि लेखनाथ ज्ञवाली आफ्ना अनन्य मित्र भएको र लामो समयसम्म साहित्य र सामाजिक क्षेत्रमा सहकार्य गरेको स्मरण गर्दै पुरस्कारका निम्ति प्रतिष्ठान परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा डा. प्रश्रितले नेपालीहरूले अब वैज्ञानिक आविष्कारतर्फ अग्रसर हुनुपर्ने औँल्याउँदै स्रष्टाहरू नवीन सिर्जनामा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा सम्मानित अर्जुन ज्ञवालीले पुरस्कृत स्रष्टा बालकृष्ण भट्टराईको बहुमुखी व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।

कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानका अध्यक्ष रम्भा पौडेलले डा. मोदनाथ प्रश्रित, साहित्यकार भट्टराई र अर्जुन ज्ञवालीलाई पुरस्कृत र सम्मान गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा साहित्यकार यादव भट्टराईले लुम्बिनी क्षेत्रका अग्रज स्रष्टाहरूबाट प्रेरणा प्राप्त भएको बताउँदै केही मुक्तक वाचन गर्नुभएको थियो । यसैगरी स्रष्टा हेमन्त भट्टराईले मुक्तक वाचन गर्नुभएको थियो भने सुशीला ज्ञवालीले कवि लेखनाथ ज्ञवालीको हालै प्रकाशित कृतिबाट भजन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मदनलाल पौडेल, दुर्गा पौडेल, मञ्जु ज्ञवालीलगायतका स्रष्टाहरूको समेत उपस्थिति रहेको थियो ।

स्मरणीय रहोस् , प्रतिष्ठानका अध्यक्ष रम्भा पौडेल,  स्रष्टाद्वय मञ्जु ज्ञवाली र सुशीला ज्ञवाली कवि लेखनाथ ज्ञवालीका तीन स्वनामधन्य सुपुत्रीहरू हुनुहुन्छ।