तृष्णा सपना

क्षितिजपारिकाे सूर्य जस्तै
बिस्तारै अस्ताउँदै छ याे मन
सागर पुग्‍ने सपनामा बगेका नदीहरू
पहाड, खाेल्सा  ढुङ्गाहरूमा ठाेकिए जस्तै
प्रत्येक पल ठाेकिएर मनमा मृत छन् ।
तृष्णा  सपना
रङ्गहीन  खुसी अविरल आँसुले पखालिन्छ
आशाहरू सुकेर झरेका पात झैं
मनबाट पल पल ओईलिएर जान्छ ।
जिन्दगीको सङ्‍घर्षमा दुःखका पहाडहरू
शिखरमा मन बिसाउने चाहना अधुरो छ।
समुन्द्रका गहिराइमा अनमाेल मोतीहरू
आँसुमा बग्दै जान्छ विवशतामा जिन्दगी
एउटा निर्दाेष  पुतलीको मन झैँ
उडेर आकाशमा छुन मन लाग्छ।
इन्द्रेणीका रङहरूले सजाउन मन लाग्छ
आकाशका ताराहरूले
जीवन झिलिमिली बनाउन मन लाग्छ
विरही मनमा मृत छन्
तृष्णा सपना
खुसी कोर्ने  रङहरू पोखिए
आकाश छुने रहर बादलमा हराए
उडेर कहाँ गए मनका परेवीहरू
जीवनकाे गन्त्तव्य  कहाँ छ भेटिँदैन
अनन्त्त हिँडिरहेकाे छु; खाेजी रहेको छु।
उकाली, ओराली, साँघु ,मरुभूमिमा
समयको वेगमा  पिल्सिएर
मनमा मृत छन्
तृष्णा सपना
हिमालबाट बग्दै जाने नदीहरूकाे
विशाल सागर बन्ने सपना जस्तै
देश बनाउने मेरा ठुला  सपनाहरू
पहाडकाे गुराँसका गर्भमा मरे
देश बनाउने सपना देशकै माटोमा विलाए
राष्ट्र प्रेमकाे भावमा छाती चर्कन्छ ।
पल पल आँखामा आँसु बगिरहन्छ ।
शून्य मनमा मृत छन् ।
तृष्णा सपना
पुर्खाका रगतहरु सम्झन्छु
अतालिन्छु तड्पन्छु मनमा
उस्तै छ गुराँसहरू काे माया
उस्तै छ नदीहरूकाे माया
उस्तै छ पहाडहरूकाे माया
उस्तै छ हिमालहरूकाे माया
उस्तै छ देशका ढुङ्गाहरूकाे माया
उस्तै छ देशको माटोहरुकाे माया
गुराँसले रङ बनाए जस्तै
नदीले सागर  बनाए जस्तै
डाँफेले गुँड बनाए जस्तै
सूर्यले राेस्नी बनाए जस्तै
जूनले शीतल बनाए जस्तै
फूलले सुवास बनाए जस्तै
याे मृत् तृष्णा सपनाले मेराे देश बनाउने छु ।

(प्रणय देव कवि भद्र श्रीद्वरा  रचित पुस्तक
“राष्ट्र प्रेम” गद्य कविता सङ्ग्रहबाट साभार)