May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार

दायित्वद्वारा प्रकाशित कमल ज्ञवालीको संस्मरणसङ्ग्रह लोकार्पित

२०८० श्रावण १९, काठमाडौँ । 

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आयोजित एक समारोहमा प्रमुख अतिथि नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष एवम् साहित्यकार रोचक घिमिरेले कमल ज्ञवालीको संस्मरण सङ्ग्रह ‘सत्प्रयास’ को लोकार्पण गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथि घिमिरेले कृतिको प्रशंसा गर्दै साहित्यकार कमल ज्ञवालीले विभिन्न समय, सन्दर्भ र स्थानका घटना विशेषलाई संस्मरणका रूपमा कृतिमा समावेश गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पन्तले लामो समयदेखि प्रतिष्ठानसँग सम्बद्ध ज्ञवालीको कृति प्रकाशन गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । कार्यक्रमका मुख्य वक्ता समालोचक कृष्ण प्रधानले कृतिबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रधानले कमल ज्ञवालीको सिर्जनात्मकताबारे चर्चा गर्दै कृतिको प्रशंसा गर्नुभयो । कृतिकार कमल ज्ञवालीले आफ्ना विभिन्न समयका अनुभव र स्मरण सुनाउँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि प्राज्ञ प्रा. दिनेशराज पन्त, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकाल, प्रा. डा. लेखप्रसाद निरौला, ठाकुर शर्मा भण्डारी, सूब सेन, यादव  भट्टराईलगायतले कृतिकार कमल ज्ञवाली र लोकार्पित कृति ” सत्प्रयास ” का बारेमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

दायित्व वाङ्मय प्रतिष्ठानका हाल सचिव रहनुभएका ज्ञवाली संस्थापकमध्येका एक हुनुहुन्छ । उहाँका यसअघि “आधुनिक नेपाली राष्ट्रिय मुद्रा (२०५६) र “नोट्स एन्ड क्वाइन्स अफ नेपाल (२०६३,सहलेखन) कृति प्रकाशित छन् । उहाँ नेपाल राष्ट्र बैंकमा तीस वर्ष सेवा गरी हाल अवकाशप्राप्त जीवन बिताइरहनुभएको छ ।