December 8, 2024, Sunday
२०८१ मंसिर २३, आईतवार

स्वदेश फर्क

युवा स्वदेश फर्क लौ बेहालमा छ देश यो  
सबै जुटौं सबै उठौं उठाउँ राष्ट्र यो  छिटो 
मधेसदेखि उक्लँदै हिमालसम्म पुग्‍नुछ
स्वदेशका सबै गरा खनेर साग टिप्‍नुछ ।

सबै जुटेर देशमा सुगन्ध स्वाद ल्याउन
विकासका जरा जरा सम्मृद्धपूर्ण पाउन 
पुरातनी कुचालका विनाशको छ यो घडी
युवा बनेर सारथी उठौं जुटौं ल यै  घडी ।

बनेन देश यो किन स्वयं नियाली नेत्रले
पुरातनी प्रथा यहाँ हिंडेछ जीर्ण चालले 
चुहेछ जीर्ण वर्तनै  भने कतै त टालिद्यौं
छियाछिया  रहेछ त्यो भने सटक्क फालिद्यौं ।

कुचालले कुजालले नीति विधि घुमाउँदा
कुरूप छन् स्वदेशका स्वचालकै भनाउँदा
समग्र स्वार्थको घडा कहाँ भरिन्छ पूर्ण भै 
विवेक ज्ञान शून्य छन् स्वदेशका गरा सबै ।

बढेर भ्रष्ट सारथी कुमार्ग मार्गपूर्ण छन्
युवा भगाइ देशका स्वयं रथी म भन्दछन्
रथी पति कहाँ छ को समग्र भ्रष्टतन्त्रमा 
चलेन देशको गति विकासका स्वयन्त्रमा ।