May 14, 2025, Wednesday
२०८२ जेष्ठ २, बिहीबार

अनल गौतमका दुई कृति लोकार्पण

काठमाडौँ, असार २३ 

आज युवा स्रष्टा अनल गौतमका नवीनतम दुई कृति लोकार्पण भएका छन् । 

स्रष्टा गौतमका ‘बार्दली’ (उपन्यास) र ‘दाहिने हाते सिक्का र साइकल’ (कथासङ्ग्रह) ऐरावती प्रकाशनको आयोजनामा होटल एलो प्यागोडा, जमलको एक सभाहलमा भव्य र सभ्य रूपमा लोकार्पण भएका हुन् । 

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्षता साहित्यकार तथा ऐरावती प्रकाशनका संस्थापक रामदेव पण्डेले गर्नुभएको थियो । 

सभाध्यक्ष पाण्डेको स्वागत मन्तव्यसँगै सुरु भएको उक्त कार्यक्रमलाई प्रमुख अतिथिले दीप प्रज्ज्वलन गरी गति दिनुभयो । 

प्रमुख अतिथिले पुष्पपत्रको आवरणबाट झिकी लोकार्पण गरिएका कृतिका बारेमा सञ्‍चारकर्मी तथा साहित्यकार महेश राणा र समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभयो ।

प्रमुख अतिथिले मन्तव्यका क्रममा पढ्दा निद्रा लाग्‍ने र निद्रा भाग्‍ने दुई प्रकारका पुस्तक हुन्छन्; तीमध्ये आजका स्रष्टा गौतमका कृति निद्रा भगाउने खालका भएको जनाकारी दिनुभयो ।

स्रष्टा गौतमले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद प्रकट गर्दै छिट्टै अर्को औपन्यासिक कृति प्रकाशन गर्ने अठोट व्यक्त गर्नुभयो ।

निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो अर्थात् साढे तीन बजे सुरु गरी लगभग साढे चार बजे समापन गरिएको प्रस्तुत कार्यक्रम सञ्‍चारकर्मी तथा कुशल सञ्‍चालक रोहित भण्डारीले सञ्चालन गर्नुभएको थियो ।