बालसाहित्य र लोकगीत गायनका प्रतिभाहरू पुरस्कृत
काठमाडौँ। नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा आयोजित एक समारोहमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालका पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमाले बालसाहित्य र लोकगीत गायनका क्षेत्रमा योगदान गर्ने पाँच सर्जकलाई पुरस्कृत गर्नुभयो।
उहाँले सोही कार्यक्रममा गुठीमा लामो समयसम्म आबद्ध रही सहयोग गर्ने चार व्यक्तित्वसमेतलाई सम्मान गर्दै राज्यले गर्नुपर्ने काम गुठीले गरेको छ भन्दै गुठीका गतिविधिबारे प्रशंसा गर्नुभयो। सो अवसरमा प्रमुख अतिथि प्रा. माथेमाले नूर-गङ्गा स्थापित राष्ट्रिय बालसाहित्य पुरस्कार (रु. १ लाख; संयुक्तरूपमा) बाट डा. गेहेन्द्रमान उदास, (कास्की) र कन्हैया नासननी (काठमाडौँ), नूर-गङ्गा स्थापित क्षेत्रीय लोकगायन पुरस्कार (रु. ३० हजार) बाट पुष्कल शर्मा (पाल्पा), नूर-गङ्गा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार (रु. २५ हजार) बाट रामकुमार नेपाली (रामेछाप) र नूर-गङ्गा नवप्रतिभा क्षेत्रीय साहित्य पुरस्कार (रु. २० हजार) बाट आयुष्मा तिवारी (नवलपरासी) लाई पुरस्कृत गर्नुभयो। यसैगरी प्रा. माथेमाले बाबुहरि ज्ञवाली, प्रा. डा. तुलसीप्रसाद पाठक, प्रा. डा. विनोदकुमार श्रेष्ठ र यज्ञप्रसाद शर्मा पोखरेललाई विशेष सम्मान गर्नुभयो।
कार्यक्रममा गुठीका अध्यक्ष प्रा. डा. गोविन्द नेपाल, पूर्व अध्यक्ष प्रा. डा. चूडामणि बन्धु, उपाध्यक्ष प्रा. डा. भवेश्वर पंगेनी, सदस्यहरू प्रा. डा. ध्रुवकुमार घिमिरे, नारायण रायमाझी र यादव भट्टराईलगायतले गुठीका संस्थापकद्वय नूरप्रताप जबरा र गङ्गादेवी राणाको योगदानको स्मरण गर्दै पुरस्कृत, सम्मानित प्रतिभा तथा गुठीका गतिविधिबारे चर्चा गर्नुभयो भने पुरस्कृत र सम्मानित प्रतिभाहरूले कार्यक्रममा आआफ्ना प्रस्तुति राख्नुभयो। कार्यक्रम गुठीका अध्यक्ष प्रा. डा. गोविन्द नेपालको सभापतित्वमा सम्पन्न भएको थियो।
प्रतिकृया दिनुहोस्