January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

आश

कहिल्यै आशा मर्न नदिनु
आशा नै जिन्दगीको अर्को नाम हो
आँसु त्यसै झर्न नदिनु
विनाअर्थ आँसु फाल्नु बेकाम हो
समयका धारिला हतियारहरू लागे कतै
नडराऊ समय चलिरहन्छ निरन्तर
फेरि घाउहरू निको हुने पालो तिम्रै त छ
उधारोमै हाँसिदेऊ पीडाहरू बिर्सिएर
तिम्रा खुसीहरू तिम्रै भागमा त छन्
मृत्यु पनि झुकेको जिन्दगीसँग
कुनै डर छैन भनी अघि बढ न
जिउँदा लासहरूको रूप कैयौँ पटक लिइसकेको तिम्रो शरीरलाई
मौका पाएका छौ एकचोटि मुक्तिको सहर घुमाइदेऊ न 
हेर त तिमी काँचुलीभित्रको सर्प झैँ बाहिर आयौ
दुःखको पिँजडाबाट मायाको दुनियाँमा आयौ
तिम्रा आशाहरूलाई मान्‍नै पर्छ
तिम्रा साहस तिम्रा प्रयासहरूलाई गन्‍नै पर्छ
हेर त तिमी पनि सुन्दर मानव भएछौ
तिम्रा आँसु झर्न नदिनु
तिम्रा आशा मर्न नदिनु
आशा नै जिन्दगीको अर्को नाम हो ।