January 14, 2025, Tuesday
२०८१ माघ २, बुधबार

षड्यन्त्रकारी जनता !

नेता फसाउने
दुनियाँ हसाउने
आफैं घुस दिने
लिन्न लिन्न भन्दा नि
धरै नदिने
हुन्न भन्दा पनि
घरै आई आई दिने
मन्त्रालय, विभाग
क्वाटरमै धाई धाई दिने
अनि फेरी आफैं
खायो खायो घुस खायो
भन्दै नाम लिने
कस्तो धोकेबाज तिमी
ए जनता तिमी कस्तो षडयन्त्रकारी !

कतिथोक गर्यौं हामीले तिम्रा लागि
के के गरेनौं र !
भनिसाध्यै छैन
हामी तिम्रा लागि गड फादर हौं
खासमा तिम्रो इतिहास बनाउने नै
हामी हौं
तिम्रो अस्तित्व नै हामीले गर्दा
जीवित छ
आफ्नो ज्यानको बाजी लगाएर
कति जेलनेल भोग्यौँ हामीले
बन्द हड्ताल चक्काजाम गर्यौं
भोकै तिर्खै घामपानी
जाडोगर्मी झरीबादल
केहीको परवाह नगरी
भूमिगत भएर बस्यौँ लुक्यौँ
कति पटक मृत्युसँग पौंठेजोरी खेल्दै
शत्रुसँग लुकामारी खेल्दै
तिम्रै भााग्य र भविष्यका लागि लड्यौँ
आज तिमीहरू आजाद छौ, स्वतन्त्र छौ
खान, लाउन, कमाउन
तिमीलाई कसले रोकेको छ र ?
तर किन मनुष्य हामीले यसो
अलिअलि मिठो खाएकोे
राम्रो लाएको
देखिसहँदैनौ त आखिर किन ?
भन त ए षडयन्त्रकारी जनता !

आऊ आऊ जनता बिक्रीमा छन्
किनेर लैजाऊ, चिनेर लैजाऊ
भन्दै गोप्य तयारी गर्दै
तिमीहरूकै भाग्यका लागि
अलिअलि काम गर्दै थियौँ
हामीले जे गरे नि जस छैैन
घर बनायो घुस खायो भन्छौ,
पैसा कमायो विदेशमा थुपार्‍यो भन्छौ
गाडी चढ्यो पजेरो संस्कृति भन्छौ
हामीले जे गरे नि तिमीहरूलाई
खाली पिरै पर्छ
चिन्ता बढ्छ
हामीले खाएको देखेर तिम्रो भुँडी दुख्छ
तिम्रो जिउ चिलाउँछ

त्यति हुँदा पनि हामी
तिम्रै खातिर काम गर्दैछौँ
जसोतसो आफ्नो भुँडी भर्दैछौँ
तिमीले गरिखाएनौ भने
विदेश पठाइदिन्छौँ
फ्रि भिसा, फ्रि टिकेट मिलाइदिन्छौँ
केही नलागे शरणार्थी बनाइदिन्छौँ

कति पिर गर्छौ हाम्रो
कति चिन्ता लिन्छौ हाम्रो
ए षडयन्त्रकारी जनता
अब आफ्नो बन्दोबस्त गर
थपक्क लुगागुन्टा कस
आउँदै छ शरणार्थी भिसा
तयारी भएर बस
जाउला सरक्क
चिलगाडी चढेर अमेरिका
कमाउला डलर
खाउला पिज्जा र बर्गर
नगर धेरै करकर
सत्ता हाम्रै छ शक्ति हाम्रै छ
जेल त हाम्रो पुरानै मामली हो
दुईचारदिनको मेजमान खाएर
निस्किने त हो आखिर
फेरि कामधन्दा उही हो
अनि किन यति
बिघ्‍न सताएको हो हामीलाई
कति दुःख दिन सकेको !

भो अब मुद्धा फिर्ता लेऊ
हामीलाई मुक्ति देऊ
तिमीलाई शरणार्थी भिसा
मिलाइदिउँला
तिमी उता जाउला
मज्जाले कमाउला
रमाउला
हामी यता मनपरी गरौँला
सुखले जिउँला
बुझ्यौ त ए ! षडयन्त्रकारी जनता !