जनता जनार्दन

उहिले
धेरै पहिले होइन
जनता थिए
नेता थिए
राजा थिए
अनि,
देवता थिए
ती सबै परस्परमा डरपोक थिए
ती पारिस्थितिक प्रणालीमा थिए
जनता नेतासँग डराउँथे
नेता राजासँग डराउँथे
राजा देवतासँग डराउँथे
देवता जनतासँग डराउँथे ।

राजाले जनतालाई वलिवेदीमा चढाएपछि
दरबारलाई च्यातेर फ्याके जनताले
सिंहको दरबार गाउँ गाउँमा पुर्‍याइए
सिंहको दरबारमा अहिले धेरै राजाहरू बस्छन्
दरबारहरू खण्डहर छन्
अहिले,
पारिस्थितिक प्रणाली टुटेको छ
जनता जनतै छन्
झारहरूमा घस्रेर हिँड्छन्
नेता उक्लेका छन्
जनताका शिरोभागमा चढेर कुद्छन्
देवता निराकार छन्

लोलीबोलीमा फट्याकफुटुक आउने गर्छन् ।

लङ्का जलाउन
हनुमानले पुच्छर सल्काइसकेको छ
हनुमानको पुच्छरमात्रै जल्ने हो कि !
हनुमानले लङ्का पनि जलाउने हो !
हेर्न बाँकी छ
जनता जनार्दनले ।