September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

डा. रमेश शुभेच्छुकका दर्जन कविता वाचन गरिए

२६ ज्येष्ट, झरना सञ्‍चार
आज राष्ट्रिय जनसांस्कृतिक महासङ्‌घको सभा हल, बागबजार काठमाडौँमा डा. रमेश शुभेच्छुकका दर्जन कविता वाचन गरिए ।

राष्ट्रिय जनसाहित्यिक सङ्‌घ, नेपालले आयोजना गरेको ‘अविरल काव्य यात्रा’ को ७९ औँ शृङ्खलामा उक्त कविता वाचन गरिएका हुन् । यस क्रममा रमेश शभेच्छुकले ‘मेरो परिवार’, ‘अँध्यारो’, ‘स्वयम्भू’, ‘आमाको मुख’, ‘रातो बत्ती’ र ‘उल्टो न्याय’ गरी छ ओटा कविता वाचन गर्नुभयो । कवि जय गौडेलले ‘हन्मेर्नो’, कवि नारायण निरासीले ‘अचानो’, कवि देवु लुइँटेलले ‘माझी’, कवि गीता सापकोटाले ‘आमा’ र ‘द्रोणाचार्यमाथि अभिमन्यु प्रश्न’, कवि डम्बर पहाडीले ‘लुखुरेको वादी’ वाचन गरी कवि शुभेच्छुकका कवितामा थप ओज प्रदान गर्नुभयो । 

राष्ट्रिय जनसाहित्यिक सङ्‌घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षता, प्रतिनिधि सभाका सांसद मान्य दयालबहादुर शाहीको प्रमुख आतिथ्य, राष्ट्रिय जनसांस्कृतिक महासङ्‌घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीलगायतको आतिथ्य रहेको तथा राष्ट्रिय जनसाहित्य सङ्‌घ, नेपालका महासचिव प्रकाश सिलवालले सञ्‍चालन गर्नुभएको उक्त कार्यक्रममा डा. हरिप्रसाद सिलवालले कवि रमेश शुभेच्छुकको साहित्यिक परिचय दिनुभयो भने प्रा.डा. केशवप्रसाद सुवेदीले कार्यक्रममा वाचन गरिएका कविताको समीक्षात्मन टिप्पणी गर्नुभयो । 

करिब तीन घण्टासम्म सञ्‍चालन भएको उक्त कार्यक्रम राष्ट्रिय जनसाहित्यिक सङ्‌घ, नेपालका उपाध्यक्ष नर्मदेश्वरी सत्यालले समापन गर्नुभयो ।