नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा पुरस्कृत हुने स्रष्टा चयन
२०८० जेठ २५, काठमाडौँ।
नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीको साधारणसभाले २०७८ सालका पुरस्कारहरूका निम्ति प्रतिभा चयन गरेको छ। चयन हुने प्रतिभाहरूमा कास्कीका गेहेन्द्रमान उदास (पोखरेली), काठमाडौँका कन्हैया नासननी, पाल्पाका पुष्कल शर्मा, रामेछापका रामकुमार नेपाली र नवलपरासीका आयुष्मा तिवारी हुनुहुन्छ ।
गुठीले रु. १ लाख राशिको राष्ट्रिय बालसाहित्य पुरस्कारका लागि गेहेन्द्रमान उदास र कन्हैया नासननीलाई संयुक्त रूपमा चयन गरेको छ । रु. ३० हजार रशिको क्षेत्रीय स्थापित लोकगायन प्रतिभा पुरस्कार पुष्कल शर्मालाई, रु.२५ हजार राशिको राष्ट्रिय नवप्रतिभा लोकगायन पुरस्कार रामकुमार नेपालीलाई र रु. २० हजार राशिको क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार आयुष्मा तिवारीलाई अर्पण गर्ने निर्णय गरेको छ।
यी पुरस्कारहरू आगामी असार १५ गते काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गर्ने कुरा गुठीले जनाएको छ ।
नूर-गङ्गा प्रतिभा पुरस्कार गुठी २०४९ सालमा लोकगायिका गङ्गा राणा र समाजसेवी तथा साहित्य, सङ्गीत र संस्कृतिका मर्मज्ञ नूरप्रताप जबराको सकृयतामा स्थापित भएको हो ।
साधारणसभामा प्रतिभा चयनबारे विभिन्न उपसमितिका संयोजक तथा गुठी सञ्चालक समितिका सदस्यहरू प्रा. डा. ध्रुवकुमार घिमिरे, यादव भट्टराई र नारायण रायमाझीले बोल्नुभएको थियो । सदस्य-सचिव यज्ञप्रसाद शर्माले गुठीको आर्थिक एवम् अन्य गतिविधिबारे जानकारी गराउनुभएको थियो । गुठीका अध्यक्ष प्रा. डा. गोविन्द नेपालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गुठीका संरक्षक अमीरप्रताप जबरा, पूर्व अध्यक्ष प्रा. डा. चूडामणि बन्धु, उपाध्यक्ष प्रा. डा. भवेश्वर पंगेनी, सञ्चालक सदस्यद्वय प्रा. डा. सावित्री मल्ल कक्षपती र सन्ध्या पहाडीसमेतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्