वातावरण सफा राखौँ

आधुनिक जीवनशैली मानिस सबै मस्त ।
भूमि, जल, वायु, ध्वनि सबै भए ध्वस्त ।।

भूमि हाम्रो धर्तीमाता स्वच्छ राख्नुपर्छ ।
जलचर, थलचर सबले बाँच्नुपर्छ ।।

पहिले भन्थे हरियो वन नेपालको धन ।
अहिले भयो हरियो वन तस्करको धन ।।

वातावरण स्वच्छ राख्ने छैन हाम्रो ज्ञान ।
देश बनाउन कसैको कहिल्यै छैन ध्यान ।।

स्वच्छ राखी वातावरण सभ्य बनौं हामी ।
हराभरा देश हाम्रो विश्वभरमा नामी ।।

फोहोर बढे रोग लाग्छ भन्ने कुरा जानी ।
सधैंभरि सफा सुग्घर बनौं बाबु नानी ।।

स्वच्छ सहर, सफा गाउँ, स्वच्छ वातावरण ।
भए मात्र सुखद् हुन्छ हाम्रो पनि मरण ।।

साना—साना नानीलाई बाँडौँ यही ज्ञान ।
स्वच्छ भए वाताबरण सफा हुन्छ मन ।।

सड्ने गल्ने फोहोरलाई कम्पोस्ट बनाउने ।
त्यसै राख्दा थुपारेर हुन्छ गन्हाउने ।।

फोहोरमैला बढ्यो भने झिंगा पनि बढ्छ ।
बसेपछि खानामाथि बिग्रिएर सड्छ ।।

त्यही खाना खाई मान्छे बिरामी भै लड्छन् ।
कति धेरै मान्छेहरू स्वर्गतिर चढ्छन् ।।

पानी हाम्रो जिन्दगानी फोहोर गर्नुहुन्न ।
फोहोरमैला जथाभावी कहिल्यै छर्नुहुन्न ।।

सेवन गरे फोहोर पानी  रोग लााग्छ नानी ।
झाडा—बान्ता, आउँ, हैजा, टाइफाइड पनि ।।

खोला— नाला, पोखरीमा नुहाई—धुवाई हुन्न ।
सफा भए वातावरण रोग व्याधले छुन्न ।।

उपचार गर्नुभन्दा रोग नलागेकै जाति ।
फोहोरले गर्दा लाग्छ रोग नाना—भाँती ।।

दिसा—पिसाब गर्नलाई चर्पी बनाऊँ साथी ।
स्वच्छ ठाउँ, स्वस्थ जीवन हुन्छ सधैं माथि ।।

सफा राखौं घरआँगन सफा राखौं गाउँ ।
आजैबाट जुटौँ साथी चलाउन नाउँ ।।

नेपाल राम्रो माथिबाट आकाशले हेर्दा ।
प्रकृतिको प्रेमसंगै स्वच्छ सास फेर्दा ।।

आकाश राम्रो, धर्ती राम्रो, देश झनै राम्रो ।
हराभरा यो देशमा रमाउँछ मन हाम्रो ।।

सेता अग्ला हिमचुली, हरिया डाँडापाखा ।
गाउँछे गीत कोइलीले हाली मीठो भाका ।।

धर्तीमै छ एक मात्र स्वर्ग जस्तो ठाउँ ।
हरियाली हराभरा नेपाल त्यसको नाउँ ।।