झुटको सीमा
झुठको खेती जताततै छ
नम्र बोली, रसिला आँखा
खुब बिकेकै छ
खै, कसको कुरा नपत्याऊँ
सबै सत्य झैँ लाग्छ
कसैले बोलेका वाणीमा
किन किन संसार यस्तै हो झैँ लाग्छ !
साथ चाहेर सहयोग गरे पनि
मानवताको भाव पस्कन मित्र बने पनि
अचम्मको रीत रहेछ संसारको
आकाश पातालका कुरा गरी
कसैकसैले झुटको खेती चलाइरहेकै छन् ।
झुटलाई झुट हो भन्ने बुझेर पनि
मैले पत्याउनै पर्ने
साराले ‘हँमा हँ’ मिलाउनै पर्ने
लट्ठै छु भएँ म ती झुटा कहानीमा
सायद सङ्गतको असर परेको होला
कसैको बानीमा ।
धोका दिने मान्छेलाई
धोका देला भनेर नसोच्नु
बाआमाका पवित्र उपदेश नसुन्नु
कसैका आँखाको वास्तविक भाषा नपत्याई
ओठको झुटलाई नै पत्याउनु
कसैका झुटको परिणाम मात्र होइन
सायद मेरो कमजोरी हो
सायद मेरो पश्चतापको कारण हो ।
पटकपटक सत्य नबोल्दा पनि
सत्य झैँ बनाउनु कसैको कला हुन सक्छ
त्यो असत्यलाई सत्य सम्झनु
बेबकुफी मात्र होइन
विश्वास पनि हुन सक्छ
विश्वास गर्नेले निर्विकल्प विश्वास गर्दा पनि
विश्वास घात गरिन्छ भने
विश्वासघातीले पापको परिणाम भोग्नु नपर्ला र ?
झुटको खेतीमा
आँसुको सिँचाइ गर्नेहरू !
झुटकै मेकप गरिएको तिम्रा सुकिला मुहारमा
आँसु लतपतिएको हिलो लग्न सक्छ
आखिर झुठ बोल्नाको पनि त सीमा हुन्छ !
लेखकको सम्वन्धमा