हजुरबुबा

हजुरबुबा
मेरा लागि
संसारको सबैभन्दा पुरानो मानिस !
हजुरबुबा भएको ठाउँ
मेरो घर
जीवन भनेको
ठाँउ, घर छोड्दै दुःख बिर्सिन
ठाउँ, घर खोज्दै
अलिकति सुख पाउन
हिँड्नु नै सङ्घर्ष रहेछ
मेरा हरेक सङ्घर्षहरू
हजुरबुबाबाट सुरु हुन्छन् ।
मेरो थर, जात र वर्ग
बोक्ने पहिलो मानिस हजुरबुबा
मेरो संस्कार
हजुरबुबाले दिएको
चेतनाबाट सुरु हुन्छ ।
मैले सुनेका दन्त्यकथा
हजुरबुबाले भोगेका
यथार्थहरू हुन् ।
मेरो इतिहास
अझ म जन्मिनुभन्दा अघिको
एउटा सिङ्गो इतिहास
सबैभन्दा धेरै
हजुरबुबालाई थाहा छ ।
मैले सुनेको पहिलो कविता
हजुरबुबाले सुनाएका स्लोकहरू
मैले सुनेको पहिलो उपन्यास
हजुरबुबाले गाउलेलाई सुनाउँदा
छेउमा बसेको सानो बालक म
सुन्दै महाभारत रामायणको कथा ।
मलाई सबैभन्दा डर लाग्ने पात्र
तर मलाई सबैभन्दा निष्पक्ष माया गर्ने
हजुरबुबा
मेरा हरेक प्रगतिलाई उच्च सम्मान गर्ने
हजुरबुबा !
मेरो सबैभन्दा प्यारो सम्झना
मेरो बाल्यकाल र
हजुरबुबासँग सँगै हिँडेको बाटो
उहाँले बनाएको
हस्तलिखित नागचित्र
मानिसका ढोकामाथि
कति राम्रो, सुन्दर र आकर्षक !
हजुरबुबा
मेरो वर्गको सुरुवात पक्कै हो
अक्षर चिन्ने पहिलो मानिस
पढ्न सक्ने, लेख्न सक्ने पहिलो मानिस
आफैँले लोक्ता कुटी बनाएका कागज
र आफैँ निर्मित वनस्पतिको रङले
सुशाङ्ख्यले भन्दा राम्रा खिपेका
सिल्पी अक्षर अझै पनि जीवित छन् ।
वहाँभन्दा अघिकाले
अक्षर देख्न लेख्न पाउनुभएन
आफ्ना विचार र आफ्ना भोगाइ
प्रस्ट राख्ने पहिलो मानिस मेरो हजुरबुबा
मेरा लागि
संसारको सबैभन्दा पुरानो
तर आधुनिक मानिस ।
लेखकको सम्वन्धमा