प्यारी…
झार्दछु आँसु रात र दिन म तिम्रा यादमा
बढेर आशा मष्तिस्कमाझ वियोगी मातमा
हट्दैन याद बढेर पिर खै किन यस्तो भो
लाग्दैन भोक, प्यास र तिर्खा तड्पन्छ मन यो ।
प्यारी तड्पन्छ मन यो ।।
आउँछ याद पीडाको बाढी धड्कन बढेर
सम्झाई मन, सम्हाली तन मुर्छा झैँ लडेर
यादमा आई पीडा नै दिन्छ त्यो कालो रातले
बिर्सिएँ सबै आफन्त साथी मायाको मातले ।
प्यारा मायाको मातले ।।
झुक्दै छु आज म तिम्रा अघि मायाको भिखारी
नहिँड तिमी ठसक्क ठस्की कहिल्यै पियारी
प्यारो र न्यानो त्यो तिम्रो माया सधैँ म अँगालूँ
आँखामा राखूँ, मुटुमा राखूँ दिलमा सँगालूँ ।
प्यारी दिलमा सँगालूँ ।।
नाग्नु छ अब तिम्रो र मेरो मायाले परिधि
हजार जुनी साथ नै हुन्छु रहुन्जेल धरती
न्यानो छ हामी दुईको साथ मायाले बाँधेर
कसरी सकूँ म एक्लै बस्न लैजाऊ मागेर ।
प्यारा लैजाऊ मागेर ।।
ससुरा सासू पारुँला खुसी फकाई बातले
सिँदुर हाल्छु भरेर प्यार यी मेरा हातले
बजाई बाजा जन्तीका माझ झुमेर नाचुँला
बाबा र आमा परिवार साथ हाँसेर बाँचुँला ।
प्यारी हाँसेर बाँचुँला ।।
लेखकको सम्वन्धमा