February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

आफैँलाई माया गर्दै छु

त्रिलोक यादव
कक्षा : १२
प्रसादी एकेडेमी

खै,किन हो !
आफ्नाले दिनदिनै पराया बनाए
टाढिए
एक्लो बनाए
त्यसैले आज एक्लोपनको अनुभूति हुँदै छ

तिनीहरूसँग करोडौँको भिड होला
तिनीहरूका ओठमा खुसीको हाँसो होला
मेरो एक्लोपन देखेर म खुसी नहुँला !
अरू त के भनूँ
दिनदिनै एक्लो हुँदै छु
आफूलाई सम्झाएर बाँच्दै छु
आफन्तका घृणाका सुगन्ध लिँदै छु

महोदय !
जो सधैँ हजारौँको भिडमा बस्थ्यो
आज एक्लोपनको घेरामा छ
कुन मोडमा बाँच्दै छ !

अरूले सोच्लान्
मेरो एक्लोपनको बारेमा
तर म त भोग्दै छु !

दैवले पनि कस्तो मोडमा ल्याउँछ
जसको मुहारमा हाँसो सुहाउँछ
उसैलाई एक्लो बनाएर रुवाउँछ

तर, म
त्यो एक्लोपनमै रमाउन सिक्दै छु
आफैँलाई सम्हाल्दै छु
आफैँलाई माया गर्दै छु ।