February 17, 2025, Monday
२०८१ फाल्गुन ५, सोमबार

कल्पनाको भाइ

तिमी छैनौ मेरो जीवनमा थाहा छ
तर पनि किन तिम्रै आभास हुन्छ
मेरो दुःख भुलाउने मुस्कानको परिकल्पना
किन तिम्रै यादले सताइदिन्छ !

अदृश्य छौ तर अपरिचित होइन
कल्पनामा छौ बाहिरी दुनियाँमा होइन
अनकन्टार ठाउँका गहिराइमा तिमीमात्रै छौ
मेरो दुःख भुलाउने स्रोत तिमीमात्रै हौ ।।

अबोध नयन हँसिलो मुहार बिर्सिनु कसरी
तिमीबीना मैले अब जीवन जिउनु कसरी
छिटो गर आगमन धेरै पर्खिन सक्दिनँ
भरपुर माया तिमीलाई दिन पर्खन चाहन्न ।

छुच्चो नभई ज्ञानी बन्नु हरपल
सत्कर्म गरी गुणी,दानी बन्नु हरपल
नभुल्नु कहिल्यै आमाका देन
बुवाका सिकाइ
दिदीको अमूल्य माया ।

भाइ,जुनेली रातमा प्रकाश छर्दै आउनु
मेरा कर्ण,नयनमा चिनारी छोडी बिलाउनु
भानुसँगै उदाई क्षितिजपारी भानुसँगै अस्ताउनु
झगडा होइन मायाप्रेमले जीवन सुरम्य बनाइदिनु ।

तिमीसँग बिताउने कैयौँ यादले दिनरात सताउँछ
खेलौना हेर्दा तिम्रो आकृति सिर्जित हुन्छ
आँसुका अंशहरू तिम्रैलागि खसेका छन्
भाइ,अँगालोका ताप तिम्रै नाममा साचेकी छु ।