June 12, 2026, Friday
२०८३ जेष्ठ २९, शुक्रबार

जीवनयात्रा

तुलाराम ढकाल

एउटा गीत सुनाउन मन थियो 
खोलेर आफ्नो गला
एउटा फूल लगाउन मन थियो 
युग युगको चोला
मान्छे हो मनका अनेक कुरामा 
चङ्‍गासरि उड्दछ 
हावाको वेगमा भुमरी पर्दा
अल्मलमा पर्दछ
मिठो आशा बोकेर बाल्यकालमा
उमङ्‍गले डुल्दछ
संसारै जितौँला भनेर दिलमा
विश्रामबिना नै दौडन्छ
हिजोका दिनमा अरू पनि थिए 
बुझ्दैन यस्तो कुरा 
यस्तो कल्पनाका मिठा सपना 
हुने हो कैले पूरा
थाक्दैन कहिल्यै जीवनपथमा 
पुग्‍नुछ टाढै भनी
लग्छ अटुट रूपले 
बस्दैन एकछिन पनि
आफ्नै तागत‌मा कसेर पटुका 
चम्कन्छ हेरी पर 
पुगिन्छ सजिलै गन्तव्यका पथमा
समयभन्दा वर
यस्तै तरहले बितेर जाने भो 
दिन, महिना र सालै पनि 
आहा ! जीवनको आनन्दपनमा 
रमाऊँ सधैँ भनी
यस्तै श्रमको पौरखी कद‌मा 
बज्दाहुन् वाजा पनि 
यस्तै कार्यमा रमाउन सधैँ 
गाना बनोस् जीवनी ।