January 20, 2025, Monday
२०८१ माघ ७, सोमबार

को दोषी ?

धेरै पहिलेको कुरा हो, भारतमा एक जना गुरुको आश्रम थियो । आश्रममा गुरुका धेरै शिष्य थिए । गुरुले शिष्यलाई आफ्ना आश्रममा पढाउनुहुन्थ्यो । शिष्यहरूलाई खाने, बस्‍ने र पढ्ने व्यवस्था भएको गुरुको आश्रमलाई गुरुकुल भनिन्छ । गुरुकुलमा बस्‍ने सबै विद्यार्थी दत्तचित्तले गुरुको सेवा गर्थे एवं कठोरताका साथ अनुशासनको पालन पनि गर्थे । गुरु पनि शिष्यहरूलाई औधी माया गर्नुहुन्थ्यो र ज्ञान दिनुहुन्थ्यो ।

एक समयको कुरा हो, एक जना धनी व्यापारीका घरमा पूजा थियो । ब्राह्मण बटुकहरूको आवश्यकता परेर उनी गुरुका आश्रममा गए । गुरुले आश्रमबाट दुई शिष्य, पद्मनाभ र मणिकान्तलाई ती व्यापारीसँग पठाउनुभयो । दुवै शिष्य व्यापारीसँगै हिंड्दै उनको गाउँ पुगे । भोलिपल्ट पूजा थियो । पूजाका सबै विधिहरू पुरा गरे । दानदातव्य सङ्ग्रह गरे । व्यापारीका परिवारसँग बिदावारी भए र आश्रम फर्किन लागे । उनीहरू आउँदै गर्दा बाटोमा एउटा नदी पर्थ्यो । नदी तर्न दुवै शिष्यले धोती माथि सुर्काए । उनीहरू नदीतर्फ जानै लागेका थिए । त्यतिकैमा एउटी तरुणीले चिच्चाउँदै दुवै बटुकलाई रोकिन् । बटुकहरूले ती स्त्रीतर्फ हेरे । ब्रह्मचारीहरूलाई स्त्रीसँग एकान्तमा बोल्न वा स्त्रीलाई छुन निषेध हुन्छ । यो बुझेर मणिकान्त पिठ्यु फर्काएर उभिए भने पद्मनाभ ती स्त्रीको नजिक गएर चिच्याउँनुको कारण बुझ्न थाले । ती स्त्री आफू गर्भवती भएकी रहिछिन् । उनका खुट्टामा चोट पनि लागेकाले रहेछ । उनी स्वयं नदी तर्न सक्ने अवस्थामा थिइनन् । नजिकै कुनै माझी पनि थिएनन् । त्यसैले नारीले ती ब्रह्मचारी बटुकलाई नदी तराइदिने आग्रह गरिन् । मणिकान्त स्‍त्रीका कुरा वास्तै नगरी एक्लै नदी तर्न थाले । पद्मनाभ ती स्त्रीलाई आफ्नो पिठ्युमा बोकेर बिस्तारै बिस्तारै नदी तर्न लागे । मणिकान्तलाई त्यो देखेर असह्य भयो । एउटी किशोरीलाई ब्रह्मचारीले त्यसरी बोकेर नदी तराउँनु उसका लागि सहिनसक्नु थियो । पारि पुगेपछि पद्मनाभले किशोरीलाई बिदा गरे र मणिकान्तसँग हिँड्न थाले । मणिकान्त एक्लै मुर्मुरिर्दै लम्किए । पद्मनाभ पनि हिँड्दै थिए । साँझपख दुवै गुरुको आश्रममा पुगे । मणिकान्त सरासर गुरुको कोठामा पुगे र पद्मनाभले गरेको अपराधबारे गुरुलाई सूचित गरे । गुरुले पद्मनाभलाई डाकेर सत्यतथ्य जान्न खोज्‍नुभयो ।

मणिकान्तले भने, “गुरु ! मैले अघि नै भनेँ, पद्मनाभ आज एउटी स्त्रीको स्पर्शले दुषित भएका छन् । एउटी कपाल नबाँधेकी, लक्का जवान, गोरी तरुणीलाई आज पद्मनाभले बोकेर आफ्नो ब्रह्मचर्य भङ्ग गरेका छन् ।”

पद्मनाभले गुरुको आज्ञा लिई मणिकान्तलाई सोधे, “पद्मनाभ ! ती स्त्री कस्ती थिइन् !”

“मैले अघि नै भनेँ, ती स्त्री कपाल नबाँधेकी, लक्का जवान, बैँसले उन्मत्त जस्ती देखिन्थिन् । एउटा ब्रह्मचारीले एकान्तमा त्यस्ती स्त्रीलाई बोक्नु महापाप हो ।”

पद्मनाभले भने, “ती स्त्रीको नबाँधेको कपाल, लक्का जवान छँटा एवं बैँसले उन्मत्त स्वरूप तिमीले ती स्त्रीलाई देख्दादेखि अहिलेसम्म आफ्ना मनमा बोकिरहेका छौ मणिकान्त । के त्यो पाप होइन ?”

मणिकान्त चुप्प लागे ।

पद्मनाभले फेरि भने, “मैले ती स्त्रीलाई बढीमा आधा घडी (लगभग बाह्र मिनेट) बोकेँ हुँला । तर ती बाह्र मिनेटमा मैले ती स्त्रीको गर्भावस्था र खुट्टाको चोट मात्र सम्झिएँ । ती स्त्रीमा मैले आफ्नी आमालाई देखेँ जो सम्भवतः त्यही अवस्थाबाट कुनै बेला गुज्रनुभएको थियो । यदि मैले ती स्त्रीलाई नबोकेको भए वा नदी नतराएको भए सम्भवतः तिनी आफ्नो घर जान सक्दिनथिन् होला । आफैँ तर्न खोजेको भए नदीले बगाउँन सक्थ्यो । हिंस्रक जनावर वा डाँकाबाट पनि खतरा हुने थियो । फेरि ती स्त्रीको मृत्युको पाप पनि त मलाई लाग्थ्यो । आपद् धर्मको उपदेश पनि त शास्त्रमा छ, होइन र !”

आश्रमका सबै जना मौन भए । गुरुको मुखमा प्रकाश थियो । गुरुले पद्मनाभलाई अँगालो हाल्नुभयो र आफ्नो शिष्यको प्रबुद्ध वाणी सुनेर स्वयं प्रसन्नचित्त हुनुभयो ।

हामी सबैले मनमा कुण्ठा पालेर कहिलेकाहीँ व्यवस्थाको भयले अविवेकी निर्णय लिन्छौँ । समाजले के सोच्ला, परिवारले के सोच्ला वा अरूको यसप्रति धारणा के रहला जस्ता भयले कहिलेकाहीँ हामी असल आचरणबाट हच्किन्छौँ । तर वास्तविकता यो हो कि दोषपूर्ण मानसिकताले गरिएका सबै निर्णय दोषी हुन्छन् । व्यवस्थाहरू हाम्रो व्यवहार एवं चिन्तनलाई दोषी हुन नदिनका लागि बनेका हुन् । ब्रह्मचारीले स्त्रीसँग नबोल्नुको मूल मर्म अध्ययनकालमा विपरीत लिङगीप्रति आकर्षण नपाल्नु एवं अध्ययनलाई सफलतातर्फ अघि बढाउँनु हो । पद्मनाभले यो कुरा बुझेका थिए त्यसैले गुरुको स्याबासी पाए ।