May 13, 2025, Tuesday
२०८२ बैशाख ३०, मंगलवार

जित

जितपछिको हार आज आभाष भयो
लड्दालड्‌दै जित्‍ने इच्छा कतै पुगी टुङ्‌गियो
रातदिन मन रुन्छ एउटै कुरा सम्झी
जितलाई चुम्दा पनि मौन छु म आजभोलि ।

आँखाका ती आँसु आँखाभित्र लुकाई
घोच्‍ने यथार्थ तर तिता कुरा कर्णभित्र गुन्जाई
झलझली याद आउँछ जित्‍ने अभिलाषा
हारमा कसैले सम्झाउँदा उत्तेजित हुन्छ नसा ।

बाहिरी दुनियाँमा हिजो रुमल्लिँदा
आफ्नै कारणले आज हार स्विकार्न पुग्दा
पटक पटक मन रुन्छ सम्हाल्न सक्दिनँ
अरूले मलाई गलत ठान्दा म सहन सक्दिनँ ।

कसैलाई मैले बुझाउनुछ जितको परिभाषा पनि
कसैलाई मैले बताउनुछ जीवनमा हार्नु पनि पर्छ भनी
आफ्नो जितमा नरमाउने म एकमात्र व्यक्ति रहेछु
अरूलाई मेरो अस्तित्व दिन नसक्ने भएछु ।