अनुराधाको ‘आरब्ध’ लोकार्पण
काठमाडौँ, चैत १८ (झरना सञ्चार)
आज नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा अनुराधा ढकालको कृति लोकार्पण भएको छ ।
स्रष्टा ढकालको जन्मदिन पारी मुक्तक सङ्ग्रह ‘आरब्ध’ नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा लोकार्पण गरिएको हो ।
वरिष्ठ साहित्यकार तथा चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले गर्नुभएको थियो ।
प्रमुख अतिथिले दीप प्रज्ज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथिबाट लोकार्पण भएपछि वाल्मीकि विद्यापीठका प्राचार्य भागवत ढकालले पुस्तकको समीक्षात्मक टिप्पणी राख्नुभयो । यस क्रममा उहाँले मुक्तक विधाको सङ्क्षिप्त परिचय दिई लोकार्पित कृति र कृतिकारका नामको तुलनात्मक विश्लेषण गर्दै सर्जक अनुराधाबाट राम्रो कामको आरब्ध अर्थात् आरम्भ भएको जानकारी दिनुभयो । उहाँले सामाजिक, राजनीतिक, प्राकृतिक, सांस्कृतिक, पौराणिक जस्ता विविध क्षेत्रका विषयवस्तु समेटिएको उक्त कृतिका मुक्तक रचनाविधानका दृष्टिले राम्रा भएको जाकारी गराउँदै कृतिका केही अपरिष्कृत पक्ष औँल्याई आगामी दिनमा अझ परिष्कृत र सशक्त मुक्तक प्रकाशनका लागि रचनाकारलाई शुभकामना दिनुभयो ।
शुभकामना मन्तव्यका क्रममा वरिष्ठ गजलकार तथा नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार ज्ञानुवाकर पौडेलले मुक्तकसम्बन्धी विगतमा सङ्कीर्ण दृष्टिकोण रहेको जानकारी दिँदै अनुराधा ढकालसम्म आइपुग्दा मुक्तक लेखनले राम्रो फड्को मारेको विचार व्यक्त गर्नुभयो । उहाँले पहिलो कृति भए पनि मुक्तक लेखनमा स्रष्टा अनुराधा ढकालका हात बसिसकेका छन् भन्नुभयो ।
शुभकामना मन्तव्यकै क्रममा सर्जकका सरस्वती क्याम्पसमा प्राध्यापनरत दाजु मुक्तराज ढकालले ‘आरब्ध’ मुक्तक सङ्ग्रह बहिनी अनुराधा ढकालको ऐनास्वरूप भएको तर्क प्रस्तुत गर्नुभयो ।
प्रा.डा. लक्षमण गौतमले प्रस्तुत कृतिका धेरैजसो मुक्तक निक्कै स्तरीय रहेको सन्दर्भ उठाउँदै कुनै पनि स्रष्टाको पहिलो कृति यति सशक्त कमै हुने बताउनुभयो ।
स्रष्टा अनुराधा ढकालले आफ्ना निरक्षर आमाबुबा नै आफ्नो रचनाको पहिलो स्रोत भएको जानकारी दिँदै अग्रजहरूको साथ र हौसलाका कारणले प्रस्तुत कृतिको जन्म भएको विचार व्यक्त गर्नुभयो । उहाँले समीक्षकका सुझाव स्वीकार गरी आगामी दिनमा अझ राम्रा मुक्तक लिएर आउने प्रतिबद्धता प्रकट गर्नुभयो ।
प्रमुख अतिथिले अनुराधाको आरब्ध अर्थात् पुस्तक प्रकाशनको आरम्भले निरन्तरता पाओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले सङ्कलित चार सयभन्दा बढी मुक्तकले झन्डै चारओटा पुस्तक बन्न सक्ने प्रसङ्ग कोट्याउँदै ‘आरब्ध’ सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले महत्त्वपूर्ण रहेको जाकारी दिनुभयो ।
कार्यक्रमका अन्त्यतिर नेपाल मुक्तक प्रतिष्ठानका सदस्य राधेश्याम लेकालीले कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तिका योगदानको सङ्क्षेपमा चर्चा गर्दै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
भूगोल, समाज, संस्कृति जस्ता सम्पूर्ण कुरा समेट्न सफल प्रस्तुत कृति ‘तुकदोषरहित’ भएको जानकारी दिँदै सभाध्यक्ष रामकाजी कोनेले कार्यक्रम समापन गर्नुभयो ।
निर्धारित समयभन्दा आधा घण्टा ढिलो अर्थात् साढे एक बजे सुरु गरी लगभग तीन बजे समापन गरिएको प्रस्तुत कार्यक्रम सुमधुर स्वरका धनी, कुशल सञ्चालक तथा नेपाल मुक्तक प्रतिष्ठानका महासचिव साहित्यकार यादव भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्