‘मन पग्लियो भने…’ लोकार्पण
काठमाडौँ, चैत ११ (झरना सञ्चार)
आज आँचल कुसुम अधिकारीको कृति विमोचन भएको छ।
उनको कविता सङ्ग्रह ‘मन पग्लिएछ भने…’ राजधानी काठमाडौँको पद्मोदय माध्यमिक विद्यालय, पुतलिसडकमा विमोचन गरिएको हो ।
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्षता आदित्य बुक्स एन्ड डिस्टिब्युटर्सका टुपेन्द्र थापाले गर्नुभएको थियो ।
प्रमुख अतिथिले दीप प्रज्ज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा सर्जकका पिता मोहदत्त अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथिबाट लोकार्पण भएपछि शुभकामना मन्तव्यका साथै नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य बाबा बस्नेतले पुस्तकको सङ्क्षिप्त समीक्षात्मक टिप्पणी राख्नुभयो । यस क्रममा उहाँले पुस्तकमा सङ्कलित कविताहरूको सङ्क्षिप्त चर्चा गर्दै आँचल अधिकारीका कविताहरू उनको उमेरभन्दा परिपक्व भएको जानकारी दिनुभयो ।
प्रमुख अतिथिले मन्तव्यका क्रममा साहित्य र राजनीतिको तुलना गर्दै कवि अधिकारीलाई फूलैफूलका बाटामा र आफूलाई खुकुरीका धारमा हिँड्ने व्यक्तिका रूपमा चित्रण गर्नुभयो । यसै क्रममा उहाँले सर्जक अधिकारीका कृतिमा विचारको सुन्दर प्रस्तुति भएको सङ्केत गर्नुभयो । वर्तमान नेपाली समाजमा स्वदेशीभन्दा विदेशी संस्कृति हावी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै यसप्रति सधैँ खबरदारी गर्न कवि अधिकारीलाई आग्रह गर्नुभयो ।
अत्यन्त व्यस्त समय भए पनि प्रमुख अतिथिले सर्जक अधिकारीका कविता श्रवण गर्ने मनसाय व्यक्त गरेपछि कवि आँचल कुसुम अधिकारीले ‘मन पग्लिएछ भने…’ र ‘छाडी गयौ’ भन्ने दुई कविता सुमधुर स्वरमा वाचन गर्नुभयो ।
कार्यक्रमका अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कृति प्रकाशन गरेकोमा खुसी प्रकट गर्दै आगामी दिनमा पनि निरन्तरता दिने हो भने कवि अधिकारी सफल साहित्यकार हुने उद्घोष गर्नुभयो ।
साहित्यकार प्रभा भट्टराईले शुभकामना मन्तव्यकै क्रममा छन्द र विषयगत विविधतालाई ‘मन पग्लिएछ भने…’ कृतिका कविताले समेटेको तथा यस कृतिमार्फत कवि अधिकारीमा जिम्मेवारबोध प्रकट भएको विचार व्यक्त गर्नुभयो ।
नवसर्जक चौतारी नेपालका संरक्षक दीपक गौतमले शुभकामनाकै क्रममा कवि आँचल अधिकारीलगायत बालप्रतिभाबाट आफू प्रभावित भएको जानकारी दिनुभयो ।
करिब तीनसय जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा सर्जक अधिकारीलाई लिभरपुल माध्यमिक विद्यालयका प्रतिनिधि भुवन केसी र प्रसादी एकेडेमीका प्रतिनिधि प्रभा थापाले शुभकामना दिनुभयो ।
लिभरपुल माध्यमिक विद्यालयमा कवि अधिकारीले कक्षा दशसम्म अध्ययन गर्नुभएको थियो भने उहाँ अहिले प्रसादी एकेडेमीमा विज्ञान विषय लिएर कक्षा बाह्रमा अध्ययन गर्दै हुनुहुन्छ ।
नवसर्जक चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष विभूति अधिकारी, साहित्यकार चारुभा घिमिरे, पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण गौतमलगायतले शुभकामना दिनुभएको उक्त कार्यक्रममा सर्जक मल्लिका खतिवडाले आफ्नो रचना सुनाउनुभएको थियो भने बालसाहित्यकार सोइना दाहालले कवि आँचल अधिकारीकै कविता वाचन गर्नुभएको थियो ।
करिब दुई बजेतिर सुरु भएको उक्त कार्यक्रम सभापतिको मन्तव्यसँगै करिब पाँचबजेतिर समापन भयो ।
प्रतिकृया दिनुहोस्