नारीको पहिचान
आफ्नो नै परिचय छैन किन हाे नारीहरूकाे यहाँ
थर नि फेरिने घर नि फेरिने पद नाम अरूकै महाँ
शक्तिका खानी हुन् यी सृष्टिकर्ता भनिन्छ भन्दा कति
‘नी’ राखेर बाेलिन्छ नारीहरूलाई जे गर्छन् उनका पति ।।
पण्डत्नी भनिने छ पति उनका पुराण भन्ने भए
हाकिमनी भनिन्छ सरकारी जागिरे हाकिम रहे
पुलिसनी अरे ती प्रहरीहरू नै पति भएका जति
‘नी’ राखेर बाेलिन्छ नारीहरूलाई जे गर्छन् उनका पति ।।
डाक्टर, पाइलट, इन्जिनियर पनि नारीहरू नै छन् है
राजनीतिज्ञ सज्जन बडा छन् बुद्धिजीवी झनै
रिसराग नगरी सधैँ अघि बढी मिहेनत गर्छन् कति
‘नी’ राखेर बाेलिन्छ नारीहरूलाई जे गर्छन् उनका पति ।।
सन्तान छन् उनका हरेकतरहका जन्माउने हुन् उनी
राताेदिन कति ख्याल गर्दछिन् बरै नहुन् दुखी काेही भनी
दुखी केही कथम भएछन् भने दाेष पाउँछिन् आमा कति
‘नी’ राखेर बाेलिन्छ नारीहरूलाई जे गर्छन् उनका पति ।।
राम्रो काम या कुनै खराब जुनसुकै पतिले गर्दामहाँ
जाेडिन्छ उपनाम तेहीअनुसार हुन् उनी जस्तै यहाँ
नारी हौँ अब याे विचार गरौँ है बुझेर संसार अति
‘नी’ राखेर बाेलिन्छ नारीहरूलाई जे गर्छन् उनका पति ।।
कानुनले दिएको छ हकअधिकार लडेर लिनुपराे
परिचय दिनलाई, आफू चिनिनलाई टेकौँ है खुट्टा दह्रो
‘नि’ लाई हटाई ‘ऊ नि’ हाे भनिने गरौँ है काम छन् जति
‘नी’ राखेर बाेलिन्छ नारीहरूलाई जे गर्छन् उनका पति ।।
परिचय आफ्नो हाेस् नलागाेस् कुनै दाेष नारीहरूमा अब
देवीकै रूप हाे भनिन्छ नारीलाई छन् शक्तिशाली सब
मायाकी खानी हुन् छ मुटु कमलाे विश्वास गर्छिन् अति
‘नी’ राखेर बाेलिन्छ नारीहरूलाई जे गर्छन् उनका पति ।।
लेखकको सम्वन्धमा